काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले बाढी प्रभावित क्षेत्रका समस्या, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न तत्काल संसद सुचारु गराउन सरकारसँग माग गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा भोटेकोसी बाढीले पुर्याएको क्षतिपछि स्थगित सदनलाई सुचारु गरी एकीकृत सुझावसहित ध्यानाकर्षण गराउनुपर्ने निर्णय गरेको हो।
बैठकले बाढीपीडितको सहयोगार्थ संसदीय दलका नेता भीष्मराज आङदेम्बेको १ महिना र कांग्रेसका सम्पूर्ण सङ्घीय सांसदहरूको १५ दिनको तलब राहत कोषमा दिने निर्णय गरेको छ।
संसदीय दलको बैठकले गरेका प्रमुख ६ निर्णयहरू:
नेपाली कांग्रेसले भदौ १० गतेको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। क्षति पुगेका सडक, पुल, विद्युत् र सञ्चारजस्ता अत्यावश्यक पूर्वाधार तत्काल मर्मत गरी जनजीवन सामान्य बनाउन सरकारसँग माग गरिएको छ।
दलका नेता आङदेम्बेले प्रभावित क्षेत्रको निरीक्षणका क्रममा तहगत समन्वयको अभाव देखिएको र पीडितहरूले उद्धार सुस्त भएको गुनासो गरेकाले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारबिच प्रभावकारी समन्वय मिलाउन सरकारलाई आग्रह गरिएको छ।
बाढीपीडितको राहत र उद्धारका लागि संसदीय दलका नेताको १ महिना र सांसदहरूको १५ दिनको तलब रकम सहयोग स्वरूप उपलब्ध गराइनेछ।
विपद्को यस विषम परिस्थितिमा प्रभावित जिल्लाका समस्याबारे गहन छलफल गर्न र उद्धार, राहत तथा पुनःस्थापनाबारे सरकारलाई एकीकृत सुझाव दिन रोकिएको संसद बैठक तत्काल सुचारु गर्न माग गरिएको छ।
उद्धार तथा राहत कार्यमा अहोरात्र खटिने सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वयंसेवक, सञ्चारमाध्यम तथा सहयोग गर्ने मित्रराष्ट्रहरूप्रति धन्यवाद व्यक्त गरिएको छ।
पृथ्वी राजमार्ग अवरुद्ध भएको स्थितिमा वैकल्पिक सडक व्यवस्थापन गर्न र कालोबजारी, कृत्रिम अभाव एवं मूल्यवृद्धि रोक्न कडा बजार अनुगमन गरी दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।