विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन्। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको र त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो। त्यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो। काँग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराइसकेको छ। यसअघि साउन ९ गते एमाले र नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो।
संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने ५ जना तटस्थ बसेका थिए। उनलाई एमालेका उपसभामुखसहित ४०, तत्कालीन माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना सांसदले समर्थन गरेका थिए।
त्यस्तै, एमाले र तत्कालीन माओवादीबिचको गठबन्धन टुटेर काँग्रेससँग नयाँ समीकरण बनेपछि मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। ८३ सांसद सहभागी उक्त मतदानमा विश्वासको मतको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।
९२ सदस्य रहेको कोशी प्रदेशसभामा एमालेका ४० र काँग्रेसका २९ सदस्य छन्। यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित ५ र जसपाका १ सांसद रहेका छन्।