४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी असोजका लागि तय भएको १५ औं महाधिवेशन रोक्न माग गर्दै पेस गरेको निवेदनमा सर्वोच्च अदालतले थप अध्ययन गर्ने भएको छ।
अदालत प्रशासनले थप अध्ययन गर्नुपर्ने जनाउँदै उक्त रिट निवेदन हाल दर्ता नगरिएको जानकारी दिएको छ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। तर, उक्त कार्यतालिका एकपक्षीय ढंगले ल्याइएको दाबी गर्दै संस्थापनइतर समूहका नेताहरू महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च पुगेका हुन्।
निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ निवेदन लिएर अदालत पुगेका थिए।
यसअघि पनि यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई अस्वीकार गर्दै सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो। उक्त मुद्दामा सर्वोच्चले यसअघि नै पुनः सुनुवाइको आदेश दिइसकेको छ।