काठमाडौँ। काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनबीच भनाभन भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको छलफल कार्यक्रममा बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफलका क्रममा मेयर महर्जनले महानगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भए पनि आफूहरूमाथि विभिन्न आरोप लगाउने र मुद्दा लगाउने काम भइरहेको गुनासो गर्दै सांसदहरूले पनि विषयको वास्तविकता नबुझी दबाब दिने गरेको भन्दै कामको प्रकृति र समस्या बुझेर मात्रै धारणा बनाउन आग्रह गर्दै गर्दा सांसद तामाङले मेयर महर्जनको भनाइप्रति आपत्ति जनाएपछि दुईबीच भनाभन भएको हो ।
विवाद तत्काल साम्य नभएपछि सांसद तामाङ बैठकबाट झोँक्किँदै बाहिरिएकी थिइन्।
बैठकमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्दा देखिएका समस्या, प्रभावित स्थानीयका गुनासा, काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान तथा स्थानीय तहको भूमिकालगायत विषयमा छलफल भएको थियो।
फोहोरमैला व्यवस्थापनको विषयमा काठमाडौं उपत्यकाका स्थानीय तह, संघीय सरकार र बञ्चरेडाँडा क्षेत्रका स्थानीयबीच लामो समयदेखि विवाद तथा असन्तुष्टि रहँदै आएको छ।