मेलौलीमा प्रशासनिक सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

मेलौलीमा प्रशासनिक सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

  • शुक्रबार, भदौ ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 988
    SHARES

बैतडी, ५ भदौः मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीयवासीलाई प्रशासनिक सेवा लिन सहज भएको छ । कार्यालय स्थापनापछि मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको हो ।

यसअघि नागरिकता, नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । गत वैशाख २४ गते इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयवासीले यी सेवासहित अन्य प्रशासनिक सेवा पनि मेलौलीबाटै लिन पाएका छन् । मेलौली नगरपालिका–८ का शम्भुसिंह विष्टले कार्यालय स्थापनापछि प्रशासनिक सेवा लिन सहज भएको बताउनुभयो ।

“नागरिकतालगायतका प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । एक दिनभन्दा बढी समय लाग्थ्यो,” पञ्चेश्वर गाउँपालिका–१ का सुरेशराम सार्कीले भन्नुभयो, “कार्यालय स्थापनापछि समय र खर्च बचत हुनुका साथै आवतजावतको झन्झटसमेत हटेको छ ।”

इलाका प्रशासन कार्यालयले नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र नाबालक परिचयपत्र वितरणलगायत सेवा प्रदान गर्दै आएको छ । इलाका प्रशासन कार्यालय मेलौलीका प्रमुख महेश भट्टका अनुसार हालसम्म एक हजार ७७ जनाले नागरिकता र ३३८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रका लागि एक हजार ३२५ जनाको विवरण सङ्कलन गरिएको छ भने ९२ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

नियमित सेवा प्रवाह हुन थालेपछि दुर्गम क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा लिन सहज भएको प्रमुख भट्टले बताउनुभयो । “दैनिक सेवाग्राहीको चाप बढी नै हुने गरेको छ,” उहाँले भन्नुभयो, “जनशक्ति अभावका बीच पनि कार्यालयले नियमित सेवा प्रवाह गरिरहेको छ ।” कार्यालयले बजार अनुगमनलगायतका प्रशासनिक कामसमेत गर्दै आएको प्रमुख भट्टले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ