रास्वपा सांसद खगेन्द्र सुनारको चुनौती: ‘मानमर्दन भयो भन्ने लागे अदालत गएर मुद्दा हाल्नुस्’

रास्वपा सांसद खगेन्द्र सुनारको चुनौती: ‘मानमर्दन भयो भन्ने लागे अदालत गएर मुद्दा हाल्नुस्’

  • बिहिबार, भदौ ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई मुद्दा हाल्न खुला चुनौती दिएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफूले उठाएका प्रश्न र अडानमा मजबुत रहेको स्पष्ट पारेका हुन्।

यसअघि बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आईजीपी कार्कीविरुद्ध परेको उजुरीमाथि गहन छानबिन हुनुपर्ने धारणा राखेका थिए। उक्त अभिव्यक्तिलाई लिएर उनको चर्को आलोचना भएको थियो। सोही विषयमा आईजीपी कार्कीले गृहमन्त्री सुधन गुरुङ र सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता समेत गरेका थिए।

पुनः बिहीबारको समिति बैठकमा बोल्दै सांसद सुनारले पूर्ववत् विषयलाई प्राथमिकताका साथ उठाए। ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन?’ उनले प्रश्न गर्दै थपे, ‘फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ।’

प्रहरी मुख्यालयको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको जिकिर गरे।

आफूले व्यक्त गरेका भनाइप्रति दृढ रहँदै उनले भने, ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। छानबिन हुनैपर्छ।’

छानबिनको माग गर्दा कसैको मानमर्दन नगरेको प्रस्टीकरण दिँदै उनले असन्तुष्ट पक्षलाई कानुनी उपचारमा जान चुनौती दिए। ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला,’ उनले भने, ‘कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु।’

सांसद सुनारले संसदीय समितिको मर्यादा जोगाउनुपर्नेमा जोड दिँदै समितिमा आएर जुहारी खेल्न नमिल्ने टिप्पणी गरे। ‘एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ सांसद सुनारले स्पष्ट पारे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ