सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ। सत्ता साझेदार नेकपा संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेको छ। मुख्यमन्त्रीले विश्वासको मत पाएपश्चात् मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्। कुल सात मन्त्रालय रहेको सुदूरपश्चिममा सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र नेकपा एमालेले तीन मन्त्रालय लिने तय भएको छ, जसअन्तर्गत एमालेका मन्त्रीहरूले यसअघि नै शपथ ग्रहण गरिसकेका छन्।
साविकको माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एकीकृत समाजवादीको समायोजनपछि बनेको नेकपाभित्र मन्त्री चयनलाई लिएर केही आन्तरिक छलफल र रसाकसी जारी रहे तापनि विश्वासको मत दिने विषयमा भने सबै सांसदहरू एकजुट देखिएका छन्। विशेषगरी साविक नाउपाका सांसदहरूले मन्त्रालय र मन्त्रीको टुङ्गो विश्वासको मतअघि नै हुनुपर्ने माग राखे तापनि मुख्यमन्त्रीलाई विश्वासको मत दिन भने कुनै दुविधा नरहेको स्पष्ट पारेका छन्।
यसैबीच, सुदूरपश्चिम प्रदेश सभाबाट नेपाली कांग्रेसका सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ। प्रदेश सभाको बैठकमा बिनाजानकारी लामो समयदेखि अनुपस्थित रहँदै आएका देउवालाई पदमुक्त गर्ने निर्णय भइसकेको र त्यसको औपचारिक घोषणा भोलि (बुधबार) गरिने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिएका छन्। पूर्वमन्त्रीसमेत रहेका देउवा गत वर्षको आन्दोलनलगत्तै कसैलाई सूचना नदिई अमेरिका गएका थिए।