नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ

  • मङ्लबार, भदौ २, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ, २ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढताका साथ अघि बढिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले उडान सुरक्षाप्रतिको नेपालको प्रतिबद्धता, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन, नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र यूरोपेली सङ्घसँगको निरन्तर संवादका आधारमा छिट्टै सो सूचीबाट हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यूरोपेली सङ्घबाट सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजा प्राप्त भएपछि यसका आधारमा आवश्यक थप कदम अघि बढाइने स्पष्ट पार्नुभयो ।

यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै मन्त्री पौडेलले नेपाललाई उक्त सूचीबाट हटाउन उडान सुरक्षा प्रणालीको सुधारसँगै नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र कूटनीतिक पहललाई समानान्तररूपमा अघि बढाइएको बताउनुभयो ।

यूरोपेली सङ्घले सन् २०२३ को सेप्टेम्बर ११–१५ नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन सम्पन्न गरेको थियो । “उक्त मूल्याङ्कनको खुला निष्कर्षलाई अहिलेसम्म कार्यान्वयन नभएको अवस्था थियो । हामी आइसकेपछि ५ जुन २०२६ मा युरोपेली सङ्घसमक्ष यसको विवरण पेस गरेका छौँ, सङ्घले पनि १२ जुन २०२६ मा पठाएको जानकारी अनुसार ती सुधारात्मका कार्ययोजनाको समीक्षा छिट्टै उपलब्ध गराउने भन्नुभएको छ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले हवाई सुरक्षा तथा नियमनसम्बन्धी प्राविधिक क्षमता अभिवृद्धिका लागि अन्तरराष्ट्रिय साझेदारसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

“संस्थागत सुधारतर्फ महत्त्वपूर्ण काम अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामकीय निकाय र सेवा प्रदायक निकायकारूपमा विशिष्टकृट गरी छुट्टाछुट्टै संस्थागत संरचना स्थापना गर्ने सन्दर्भमा आवश्यक विधेयक तर्जुमा गरिसकिएको र छिट्टै सदनमा पेस गरिनेछ”, मन्त्री पौडेलले भन्नुभयो ।

प्राविधिक तथा संस्थागत सुधारसँगै सरकारले यस विषयमा कूटनीतिक तहबाट निरन्तर सक्रिय पहल भइरहेको जानकारी दिँदै उहाँले यसक्रममा नेपालका लागि यूरोपेली सङ्घका राजदूतसँग व्यक्तिगत रूपमा भेटघाट गरी नेपालले उडान सुरक्षाका सुधारका क्षेत्रमा गरेको प्रगति, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन र आगामी योजनाबारे छलफल गरिएको स्पष्ट पार्नुभयो ।

यूरोपेली सङ्घका सदस्य राष्ट्रका नेपालस्थित र गैरआवासीय राजदूतसँग पनि भेटघाट गरी नेपाललाई उडान सुरक्षा सूचीबाट हटाउने विषयमा नेपालको प्रतिबद्धता, सुधारका प्रयास र आगामी कार्यदिशाबारे जानकारी गराउँदै आवश्यक सहयोग र सकारात्मक भूमिकाका लागि आग्रह गरिएको उहाँको भनाइ छ ।

“नेपाललाई यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउने विषय केवल कूटनीतिक पहलबाट मात्र होइन, उडान क्षेत्रमा वास्तविक र मापनयोग्य सुधारमार्फत सुनिश्चित गर्नुपर्छ”, मन्त्री पौडेलले भन्नुभयो, “अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुसार प्राविधिक र नियमामकीय सुधारलाई तीव्रता दिइएको छ । यूरोपेली सङ्घ र सदस्य राष्ट्रसँग उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिइएको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ