गोरखा, २ भदौः साउन १८ गते सोमबार बिहान करिब ११ः०० बजेको थियो । बिहानैदेखि अविरल वर्षा भइरहेको थियो । सदाझैँ मानसिंह गुरुङ र उनकी श्रीमती चित्रकुमारी बिहानको खाना खाइवरी आराम गर्दै थिए । दुईवर्षका नाति पनि थिए साथमा । बुहारी जागिरमा गएकी थिइन्, नातिनी विद्यालय । मानसिंहका छोरा आकाश भने मनकामनामा जागिरे छन् । उतै बस्थे ।
गोरखा नगरपालिका–९ लक्ष्मीबजारको दिवामार्गस्थित मानसिंहको घरमा एक्कासी चट्चट् केही चुँडिएको जस्तो आवाज आयो । उनीहरु झसङ्ग भए । केही सेकेन्डपछि फेरि पनि चट्चट् गर्दै झनै चर्को आवाज दोहोरियो । फटाफट बाहिर निस्कदा आँगन चिरिन र छापिएका ढुङ्गाहरु भत्कन थाले । दायाँबायाँका इट्टाका गाह्रोहरु उप्कन थाले । उनीहरु झनै आत्तिएर, सडकतिर दौडिए । यत्तिकैमा पोलबाट घरसम्म टाँगिएको बिजुलीको तार चुँडियो । हेर्दाहेर्दै आँखै अगाडि उनीहरुको चारतले सपना गल्र्याम्म ढल्यो । ‘‘केही मिनटमै घर गल्र्याम, गुर्लुम् ढल्यो । मैले त केही सोच्नै सकिनँ । होसै हराए जस्तो भयो’’, ५९ वर्षका मानसिंह गुरुङले भन्नुभयो ।
लक्ष्मीबजार मानसिंहको पुख्र्यौली थलो होइन । शहिदलखन गाउँपालिका–१ ठूलो दिप्लिङबाट उहाँ यहाँ बसाइँ सरेर आउनुभएको हो । गुरुङ मात्र होइन, राम्रो शिक्षा, गुणस्तरीय स्वास्थ्य सुविधा र रोजगारीको अवसरको खोजीमा ठूलो दिप्लिङ, सानो दिप्लिङ, खान्चोक, बक्राङलगायत गाउँबस्तीका अधिकांश मानिस यहाँ घर बनाएर बसेका छन् ।
मानसिंहले दुःखसुख गरेर २०६६ सालतिर लक्ष्मीबजारमा घडेरी जोड्नुभएको हो । ‘‘अलिअलि कमाएपछि सबैलाई बजार बस्न मनलाग्दो रहेछ । हामी पनि छोराहरु पढाउँला, दुःखसुख गरेर खाउँला भनेर यहाँ आएका थियौँ’, उहाँले भन्नुभयो ।
उहाँ प्रहरी सेवाबाट २०६० सालमा अवकाश लिएपछि वैदेशिक रोजगारीमा जानुभयो । राष्ट्रसेवक हुँदाको कमाइ र वैदेशिक रोजगारीको आम्दानी जोरजाम गरेर उनले लक्ष्मीबजारमा घरघडेरी जोड्नुभयो । मानसिंहले आफ्नो जीवनकालको सारा कमाई सहरमा बस्ने रहरका लागि खर्च गर्नुभयो, जुन रहर सोमबार उहाँको आँखा अगाडि ढल्यो । गुरुङले भूकम्पपछि २०७४ सालमा ७७ लाख रुपैयाँ खर्च गरेर लक्ष्मीबजारमा चारतले घर बनाउनुभएको थियो ।
मानसिंहले २०७४ सालमा सबै मापदण्ड पु¥याएर लक्ष्मीबजारमा घर बनाउनुभएको थियो । घर बनाएको १० वर्ष नबित्दै यसरी ढल्ला भन्ने उहाँले सपनामा समेत कल्पना गरेको विषय होइन । गत शनिबारदेखि परेको पानीले उनको घरबाट केही मिटर पर सडकमा चिरा भने देखिएको थियो । मानसिंहको घर जगबाटै ढलेको छ । घर ढलेर आडमा रहेको छिमेकी किसनदेवको घरमा पनि केही क्षति भएको छ । ढलेको उहाँको घर, हरेक दिन अलिअलि तल सरिरहेको छ ।
सोमबार मानसिंहको परिवारमा अकल्पनीय चोट आइप¥यो । घर ढलेको भिडियो फेसबुकमा देखेपछि मानसिंहका कान्छा छोरा ‘आकाश’ माथि दुःखको आकाश खस्यो । उहाँ मनकामनाबाट रन्थनिँदै घर दौडिनुभयो । “धन्न परिवारमा कसैलाई केही भएन, घर ढल्दा भाडामा बस्ने ठेकेदारभित्र परेछन् । धन्न उहाँलाई पनि केही भएन”, गह्रुँगो मन गर्दै आकाशले भन्नुभयो । आफ्नो सपनाको महल ढल्दा उहाँको मनमा त अनेकन चोट परेको हुँदो हो । तर, उहाँ मानवीय क्षति भने नभएको भन्दै आफ्नो मन बुझाउँदै हुनुहुन्थ्यो ।
मानसिँहकी श्रीमती ५३ वर्षकी चित्रकुमारी भने घर ढलेको त्यो भयावह दृश्यबाट अझै बाहिर आउन सक्नुभएको छैन । दिनभर घर हेर्न, भेट्न र सहयोग गर्न आउने मान्छेहरुसँग मन भुलाउने उहाँलाई साँझ परेपछि भने पिर लाग्छ । सोमबारयता उनले आँखा झिमिक्क गरेकी छैनन् । ‘‘१७÷ १८ वर्ष भयो यहाँ आको । धेरै वर्ष अरुकोमा भाडा गरेर बसियो । बल्लतल्ल दुःखसजिलो गरेर हामीले पनि आफ्नै घर ठड्याएका थियौँ’, चित्र कुमारीले भन्नुभयो, ‘‘आज सोच्दै नसोचेको भयो, आँखैअघि घर लड्दा केही सोच्नै सकेको छैन । यस्तो दुःख कसैलाई नहोस् ।’’
अहिले मानसिंहको परिवार स्थानीय सन्तबहादुर गुरुङको घरमा आश्रित छ । सन्तबहादुरले उहाँहरुका लागि एउटा फ्ल्याट नै खाली गराइदिनुभएको छ । घर लडेपछि सेना, प्रहरी र स्थानीयहरु मिलेर घरभित्रका केही सरसामानहरु निकालिदिएका छन् । महत्वपूर्ण कागजातहरु, केही फर्निचर र लत्ताकपडा निकालेको मानसिंहले बताउनुभयो ।
चित्रकुमारीलाई भने कतिञ्जेल अरुकोमा आश्रित हुनुपर्ने होला भन्ने अन्योलताले पिरोलेको छ । बेलाबेलामा घर ढलेको एउटा नराम्रो सपना मात्र भैदिए हुन्थ्यो जस्तो लाग्छ उहाँलाई । ‘‘बुढा पनि अब ६० पुग्न लागे, जागिर खान पाउँदैनन् । म बुढी कहाँ जाने कमाउन ? कहाँ बस्ने, कसरी मुखहात जोड्ने भनेर पिर लाग्छ”, उहाँले भन्नुभयो, ‘‘सहयोग भन्ने कुरा दुई÷चार दिन त हो, त्यसपछि त आफँैले गर्नुपर्छ । सधैँभरि अरुको मुख ताकेर नि हुन्न । जीवनभरको कमाइ त्यही एउटा घर थियो, त्यो पनि गयो । हाम्रो त बाँच्ने आधार नै गयो ।’’
राज्यले कल्भर्ट बनाउँदा लापरबाही गरेकै कारण आफूहरुको यस्तो दुरावस्था आएको उहाँले गुनासो गर्नुभयो । विकास निर्माणका क्रममा हुने यस्तो स–साना गल्तीहरुले कसैको जीवनमा ठूलो क्षति हुनसक्ने जीवन्त उदाहरण हो मानसिंहको घर । सानो लापरबाहीले गर्दा एउटा परिवार विस्थापित हुनुपर्ने अवस्था आएकाले राज्यले यसको जिम्मेवारी लिनुपर्ने मानसिंहको भनाइ छ ।
उनीहरुलाई गोरखा नगरपालिकाले तत्कालका लागि रु २५ हजार नगद सहयोग गरेको छ । गुरुङ परिवारको पुनर्वासको हकमा भने घर बनाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत चार लाख रुपैयाँ उपलब्ध गराउन सकिने गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताउनुभयो । यस विषयमा थप निर्णय गर्न भने बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
गोरखा नगरपालिका–९ का वडाध्यक्ष कुलबहादुर कुँवरले गुरुङ परिवारलाई ५० हजार नगद सहयोग गराउनुभएको छ । यस्तै, गुरुङ समाज, टोल विकास संस्था र अन्य सङ्घ संस्थाहरुले पनि मासिंहको परिवारलाई केही खाद्यान्न सहयोग गरेका छन् ।