बासुकीमा नागपञ्चमी मेलाः शिवमूर्तिमा प्राणप्रतिष्ठा

बासुकीमा नागपञ्चमी मेलाः शिवमूर्तिमा प्राणप्रतिष्ठा

  • सोमवार, भदौ १, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काभ्रेपलाञ्चोक, १ भदौः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३ चुनातालस्थित बासुकीस्थानमा आज विशेष धार्मिक तथा साँस्कृतिक मेला लागेको छ । यहाँ निर्मित भगवान् शिवको मूर्तिमा नागपञ्चमीको अवसर पारी जिल्लाका जनप्रतिनिधिको उपस्थितिमिा विभिन्न पुरोहितद्वारा प्राणप्रतिष्ठा गरिएको हो ।

स्थानीय चुनाताल खैजेडी भजन तथा सांस्कृतिक मञ्चको आयोजना तथा चुनाताल-बासुकी टोल विकास संस्थालगायत स्थानीय सङ्घसंस्थाको सहकार्यमा सञ्चालित मेलामा धार्मिक अनुष्ठानसँगै स्थानीय जातजातिका मौलिक, सांस्कृतिक झाँकी, परम्परागत बाजागाजा तथा राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारले प्रस्तुति साङ्गितीक प्रस्तुती दिनुभयो ।

स्थानीय मौलिक धार्मिक परम्परा, बहुसांस्कृतिक पहिचान र लोक संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले नागपञ्चमीको अवसर आयोजना हुने मेलालाई निरन्तरता दिँदै आइएको आयोजकले जनाएका छन् । १६औँ शताब्दीदेखि यहाँ निरन्तर रूपमा नागपञ्चमीका दिन बासुकी नागको पूजा गरिँदै आइएको बनेपा-३ का वडाध्यक्ष रमेश दाहालले बताउनुभयो । उहाँका अनुसार यो स्थान पर्यटकीय दृष्टिकोणलेसमेत आर्कषक रहेकाले दसैँ, नागपञ्चमीलगायत विशेष चाडपर्वमा मेला लाग्ने गर्दछ ।

समुन्द्री सतहबाट एक हजार ९०० मिटर अग्लो स्थानमा अवस्थित बासुकी नागको प्रतिमामा पूजा गर्दा प्रकृतिले प्रदान गर्ने सबै वस्तु सहज रूपमा प्राप्त हुने जनविश्वास रहिआएको वडाध्यक्ष दाहालले बताउनुभयो । “समुद्र मन्थनको कथासँगै भगवान् शिवसँग बासुकी नागको घनिष्ठ सम्बन्ध रहेको धार्मिक मान्यता रहेअनुसार टौदह तथा काभ्रेपलाञ्चोकको पनौती र आसपासको क्षेत्रमा बासुकी नागसँग सम्बन्धित अनेकौँ किंवदन्ती र धार्मिक विश्वास पाइन्छन्”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बदन भण्डारीले बासुकीस्थान धार्मिक पर्यटनसँग जोडिएकाले यस क्षेत्रलाई संरक्षण र सम्बर्द्धन गर्न सबै क्षेत्र, व्यक्ति र निकाय लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब बनेपामा पर्यटनसँगै औद्योगीकीकरण क्षेत्र निर्माणमा जोड दिनुपर्छ ।”

जिल्ला समन्वय समिति काभे्रपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यलगायतले बासुकीस्थानलाई प्रवर्द्धन र विकास गर्न थप पूर्वाधार निर्माणको आवश्यकता औँल्याउँदै सबैले आआफ्नो तहबाट सकारात्मक प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ