१ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको छ। ८३ सदस्यीय प्रदेश सभामा सरकारलाई बहुमत सिद्ध गर्न ४२ मत आवश्यक पर्नेमा प्रस्तावको पक्षमा ४५ मत परेको हो।
बैठकमा सभामुख तुलाराम घर्तीमगरले बहुमतसहित मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरे। मतदान प्रक्रियामा कुल ७१ जना सांसद सहभागी भएका थिए।
कसले कति मत दिए?
मुख्यमन्त्री आचार्यको पक्षमा नेकपा (एमाले) का २९, नेपाली कम्युनिष्ट पार्टीका ११, जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ र राष्ट्रिय जनमोर्चाका १ गरी कुल ४५ मत परेको छ।
गठबन्धनमा रहेका दलहरूमध्ये जसपा नेपालको केन्द्रीय निर्देशनविपरीत प्रदेश संसदीय दलको निर्णय अनुसार सरकारको पक्षमा मतदान भएको हो।