काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै छ । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा बुधबार राति प्रहरीले पक्राउ गरेको थियो ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले पत्रकार श्रेष्ठका तर्फबाट दर्ता बन्दीप्रत्यक्षीकरण रिटमा शुक्रबार सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतसमेत विपक्षीलाई बन्दी र उनका बरामद सामानसहित भदौ १ गते अदालत आउन भनेको हो।
गैरकानुनी थुनामा राखिएको दाबी गर्दै पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।
सरस्वतीका अनुसार प्रहरीले दोस्रोपटक बिहीबार पनि आफ्नो घरमा खानतलासी गरेर सीसी क्यामराको डिभाइस स्टोरेज लगेको छ।
यसअघि श्रेष्ठलाई पक्राउ गरेको दिन बुधबार बेलुका पनि प्रहरीले उनको घर र जनआस्थाको कार्यालयबाट कम्प्युटरलगायत महत्त्वपूर्ण उपकरण लगेको छ।