काठमाडौँ । वैयक्तिक गोपनीयता हननको अभियोगमा प्रहरी हिरासतमा रहेका ‘जनआस्था साप्ताहिक’का प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। श्रेष्ठको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ।
यसअघि गत साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले पत्रकार श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते (आज) बिहान १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर उपस्थित गराउन आदेश दिएको थियो।
साथै, अदालतले प्रहरीलाई आधार र कारणसहितको लिखित जवाफ, जाहेरी दरखास्तसहितको अनुसन्धान फाइल तथा श्रेष्ठको घर र कार्यालयबाट बरामद गरिएका सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत अदालतसमक्ष पेस गर्न निर्देशन दिएको थियो।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई गत बुधबार राति ललितपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो।