लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा नेताहरूको जोड

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा नेताहरूको जोड

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका नेताहरूले मुलुकमा लोकतन्त्रको सुदृढीकरण तथा राष्ट्रिय चुनौतीहरूको सामना गर्न पार्टीभित्र पूर्ण एकता आवश्यक रहेको बताएका छन्।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा बिहीबारदेखि सुरु भएको कांग्रेस संस्थापनइतर पक्षको तीन दिने राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूले उक्त धारणा व्यक्त गरेका हुन्।

समारोहमा पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसमा नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशन हुनु र त्यसको परिणाम अनपेक्षित आउनु अस्वाभाविक रहेको टिप्पणी गर्नुभयो। उहाँले सर्वोच्च अदालतबाट सिंगो पार्टीले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो।

पार्टीका नेता एवं पूर्वमन्त्री एनपी साउदले नियमित १५औँ महाधिवेशनको तयारी भइरहेका बेला व्यक्तिगत महत्वाकांक्षाका कारण हतारमा विशेष महाधिवेशन गर्दा पार्टी समस्यामा परेको दाबी गर्नुभयो। अर्का नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले पनि निर्धारित समयअघि नै विशेष महाधिवेशन गरिएकाले पार्टीभित्र जटिलता पैदा भएको बताउनुभयो।

त्यस्तै, पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले शीर्ष नेताहरूको योगदान र संघर्षको कदर नगरी पार्टी अघि बढ्न नसक्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आफूहरू बिपीका अनुयायी भएको र उहाँको विचार तथा सिद्धान्तमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो। पूर्वसञ्चार मन्त्री मोहन बस्नेतले परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसाथ गरेर मात्र पार्टीलाई सबल र सक्षम बनाउन सकिने धारणा राख्नुभयो।

कार्यक्रममा नेताहरू पूर्णमान तामाङ, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, दुर्लभ थापा, राजेश यादव, मेखराज श्रेष्ठ, गेहेन्द्र गिरि, शिवप्रसाद हुमागाईं, उमा भट्टराई, गुरु बराल, सीता राना, पदमनारायण चौधरी, दीपक खड्का, सरिता प्रसाईं, रेवती भुसाल, राजु श्रेष्ठ, गणेश तिमिल्सिना र जगत बरामलगायतले पार्टीलाई एक ढिक्का बनाउन सबैको सहभागितामा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार सयौँ नेता-कार्यकर्ताको उपस्थितिमा सुरु भएको भेलाको शुक्रबार र शनिबार बन्द सत्र सञ्चालन हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी