काठमाडौँ। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई भदौ १ गते अदालतसमक्ष उपस्थित गराउन आदेश जारी गरेको छ।
सम्पादक श्रेष्ठका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले काठमाडौँ जिल्ला अदालतसमेतका विपक्षीहरूलाई बन्दीसहित बरामद गरिएका सामग्रीहरू लिई भदौ १ गते बिहान १० बजेभित्र उपस्थित हुन आदेश दिएको हो।
अदालतले महान्यायाधिवक्ताको कार्यालयमार्फत कारण देखाऊ आदेश जारी गर्दै भनेको छ, “निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो? सोको आधार र कारणसहित लिखित जवाफ पेस गर्नु।”
साथै, श्रेष्ठको घर तथा कार्यालयबाट बरामद गरिएका सीपीयू, ल्यापटप, आइप्याड, र मोबाइलका साथै जाहेरी दरखास्तसहितको अनुसन्धान फाइलसमेत इजलाससमक्ष पेस गरी देखाएर फिर्ता लैजान आदेशमा उल्लेख छ।