काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिनु लोकतन्त्रको उपहास भएको बताउनुभएको छ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संयोजक प्रचण्डले राज्य पक्षबाट भएको उक्त धरपकडको कडा शब्दमा भर्त्सना र विरोध जनाउनुभएको छ।
“समाचार लेखेकै आधारमा निश्चित विधि र कानुनी प्रक्रियासमेत नअपनाई राज्यद्वारा पत्रकार किशोर श्रेष्ठलाई धरपकड गरिनु लोकतन्त्रको ठाडो उपहास हो,” प्रचण्डले लेख्नुभएको छ। उहाँले पत्रकार श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभएको छ।
जनआस्था साप्ताहिकका अध्यक्षसमेत रहनुभएका श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको टोलीले बुधबार साँझ ललितपुरको नख्खुबाट नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार उहाँमाथि वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो।