साढे ५ महिनाको विदेश बसाइपछि आज स्वदेश फर्किँदै पूर्वप्रधानमन्त्री देउवा

साढे ५ महिनाको विदेश बसाइपछि आज स्वदेश फर्किँदै पूर्वप्रधानमन्त्री देउवा

  • बिहिबार, साउन २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 703
    SHARES

काठमाडौँ। विदेश बसाइको साढे पाँच महिनापछि नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार स्वदेश फर्किँदै हुनुहुन्छ। पत्नी आरजु राणा देउवासहित उहाँ थाइल्यान्डबाट काठमाडौँ फर्किन लाग्नुभएको हो।

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा दम्पती आज दिउँसो १२:३० बजे थाई एयरवेजको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। यसअघि यही साउन २६ गते राति फर्कने तयारी भए पनि रातिको समयमा स्वागत तथा व्यवस्थापनमा असहज हुने भएपछि दुई दिन ढिला गरी दिउँसोको समय तय गरिएको हो। देउवाको स्वागतका लागि उहाँ पक्षधर नेता-कार्यकर्ताले विमानस्थलमा भव्य तयारी गरेका छन्।

स्वास्थ्य उपचारका क्रममा गत फागुन १३ गते सिंगापुरतर्फ लाग्नुभएका देउवा दम्पती त्यसपछि हङकङ र थाइल्यान्डमा रहँदै आउनुभएको थियो।

उहाँहरू सिंगापुरमै रहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गरेका थिए। तर, वारिसमार्फत परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उहाँहरूलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिइसकेको छ।

विशेष गरी कांग्रेसभित्र आन्तरिक असन्तुष्टि र धु्रवीकरण बढिरहेका बेला देउवाको यो पुनरागमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा साढे चार हजार प्रतिनिधिको सहभागिता रहने गरी ‘राष्ट्रिय भेला’ आयोजना गर्दैछ। डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको सोही भेलाको पूर्वसन्ध्यामा देउवा स्वदेश फर्किन लाग्नुभएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी