काठमाडौँ, २७ साउन । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै सर्वसाधारण र देशका उच्चपदस्थ अधिकारीहरूले खाने खाजा कतिको स्वच्छ होला? खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको पछिल्लो खोजमूलक बजार अनुगमनले सिंहदरबारभित्रका मन्त्रालयका क्यान्टिनदेखि सर्वसाधारणको पहुँचमा रहेका खाजा घरहरूसम्म खाद्य स्वच्छताको भयावह र डरलाग्दो चित्र उजागर गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुगमन टोलीले उपत्यका र आसपासका क्षेत्रमा सञ्चालित ७ वटा खाद्य उद्योग तथा खाजा घरहरूमा एकैसाथ आकस्मिक छापा मारि अखाद्य सामग्री जफत, कारबाही र कडा चेतावनी जारी गरेको छ।
मन्त्रालयकै क्यान्टिनमा लापरबाहीको पराकाष्ठा: ‘किशु चमेना गृह’ लाई ७ दिनको अल्टिमेटम
सबैभन्दा अचम्मलाग्दो र गम्भीर दृश्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयभित्रै सञ्चालित किशु चमेना गृहमा देखियो। देशको उद्योग र आपूर्ति व्यवस्था हेर्ने मन्त्रालयकै चमेना गृहको भान्सा अत्यन्तै साँघुरो भेटियो भने बाहिर खुल्ला ठाउँमै असुरक्षित तरिकाले खानेकुरा तयार पारिँदै आएको फेला परेको छ। भान्साबाट धुवाँ फाल्ने Exhaust को प्रभावकारी व्यवस्था नभएको, किरा-फट्याङ्ग्रा नियन्त्रण (Pest Control) को प्रबन्ध अपर्याप्त रहेको र सरसफाइ पनि सामान्य मात्रै रहेको टोलीले जनाएको छ।
विभागले सो चमेना गृहलाई भान्साको भौतिक संरचना सुधार्न, भुइँ-भित्ता-सिलिङको थप सरसफाइ गर्न र कीट नियन्त्रण प्रभावकारी बनाएर सुधार गरिएको प्रमाणसहित ७ (सात) दिनभित्र विभागमा उपस्थित हुन कडा अल्टिमेटम दिएको छ। (यद्यपि यहाँ प्रयोग भइरहेको तेलको TPM ९.५ रहेकाले तेलको मापदण्ड भने अनुकूल नै पाइएको छ)।
यता अर्थ मन्त्रालयभित्र सञ्चालित मनकामना आर एस जेभी क्यान्टिनमा म्याद गुज्रिएका सामग्री नभेटिए पनि भान्साको सरसफाइ र कीट नियन्त्रणको व्यवस्था कमजोर पाइएकाले स्वच्छता कायम राख्न निर्देशन दिइएको छ।
बुद्धनगरका खाजा घरमा म्याद गुज्रिएका सामग्री नष्ट, सुत्ने कोठामै खाजा बनाउने धन्दा
काठमाडौँ महानगरपालिका-१० बुद्धनगर क्षेत्रका क्याफे तथा खाजा घरहरूमा छापा मार्दा व्यवसायीहरूको चरम लापरबाही र बेथिति बाहिर आएको छ। बुद्धनगरस्थित Ko-Fee Tales नामक क्याफेमा अनुगमन गर्दा उपभोग्य मिति समाप्त (Expired) भइसकेका १ थान Whipping Cream, १ थान Flavored Syrup र १ थान टिमुरको छोप भेटिएपछि अनुगमन टोलीले ती सामग्रीहरूलाई स्थलगत रूपमै नष्ट पारिदिएको छ।
सोही क्षेत्रमा सञ्चालित सृजना खाजा घरमा भने मानिस बस्ने र सुत्ने कोठामै खाजा तयार पार्ने गरिएको गम्भीर कैफियत फेला परेको छ। विभागले बस्ने कोठामा खाजा तयार नगर्न, पाक्ने परिकारमा घातक तथा कृत्रिम रङको प्रयोग नगर्न र लेबल नभएका सामग्री बिक्री-वितरण वा प्रयोग नगर्न कडा निर्देशन दिएको छ।
यस्तै, स्नेहा खाजा घरमा पुरानो चपिङ बोर्ड प्रयोग गरिएको, फोहोरदानी खुल्ला छाडिएको, झ्यालमा जाली नलगाइएको र फ्रिजभित्र खानेकुरा नछोपी राखिएको पाइएको छ भने लुम्बिनी खाजा घरमा फ्रिजभित्रै पाकेको खाना र नकाटेको/काँचो मासु-खाद्य पदार्थ अव्यवस्थित रूपमा एकै ठाउँमा मिसाएर राखिएको फेला परेकाले तत्काल सुधार र व्यवस्थित भण्डारण गर्न ताकेता गरिएको छ।
बनेपाको डेरीमा लेबलविनाको कच्चा पदार्थ, घिउ र बटर प्रयोगशाला पठाइयो
उपत्यका बाहिर काभ्रेको बनेपा-१ मा रहेको गुड्डु विनायक डेरी प्रा. लि. मा अनुगमन गर्दा उद्योगले लेबल नै नभएका काजु र बदाम जस्ता कच्चा पदार्थ प्रयोग गरिरहेको फेला परेको छ। टोलीले उद्योगलाई दुग्ध पदार्थ स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ पूर्ण रूपमा पालना गर्न र अपूर्ण लेबल भएका सामग्री प्रयोग नगर्न कडा निर्देशन दिएको छ।
यसैगरी, २९ Fresh नामक व्यवसायबाट बिक्री भइरहेको घिउ र बटरको गुणस्तरमा शङ्का लागेपछि अनुगमन टोलीले थप प्रयोगशाला परीक्षणका लागि नमुना (Sample) सङ्कलन गरी लगेको छ।
उपभोक्ता स्वास्थ्यमा खेलबाड गर्नेलाई नछाड्ने विभागको चेतावनी
बजार अनुगमन टोलीको नेतृत्व गरेकी विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम यो कारबाही अघि बढाइएको हो। सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य क्षेत्रमा यस्तो लापरबाही सह्य नहुने र आगामी दिनमा अनुगमनलाई अझ सशक्त बनाइने विभागले जनाएको छ।