काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवा वर्गको सङ्घर्ष, साहस र योगदान सदैव महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।
सन्देशमा उनले भनेका छन्, “आज प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य छ।”
यस्तै, युवालाई गुणस्तरीय शिक्षा, व्यावहारिक सीप, क्षमता विकास र पर्याप्त रोजगारीका अवसर प्रदान गर्नुपर्नेमा जोड दिँदै उनले उनीहरूको ऊर्जा, सृजनशीलता र क्षमतालाई राष्ट्र निर्माणको मुख्य शक्तिमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।