काठमाडौँ, २६ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाका विभिन्न खाद्य उद्योग, क्याफे, मिठाई पसल र जारको पानी उद्योगहरूमा आकस्मिक अनुगमन तथा निरीक्षण गरी सुधारका कडा निर्देशन जारी गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गरी मापदण्ड पालना नगर्ने ६ वटा उद्योग तथा व्यवसायहरूलाई निर्देशन तथा कारबाही गरेको हो।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार नियमित अनुगमनका साथै प्राप्त जनगुनासोहरूका आधारमा ‘र्यापिड रेस्पोन्स मोडालिटी’ मा टोली खटाएर यो अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा भक्तपुर नगरपालिका–०२ मा रहेको शिवम् डेरी प्रा. लि. मा सरसफाइ सामान्य र व्यक्तिगत स्वच्छता सन्तोषजनक पाइए पनि प्रशोधन कक्षको ढोकामा उपयुक्त पर्दा नलगाएको र भण्डारण कक्षमा ‘एसएमपी’ (Skim Milk Powder) र चिनी राखिएको भेटिएपछि दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका, २०७५ बमोजिम कार्य गर्न निर्देशन दिइएको छ।
त्यसैगरी भक्तपुर नगरपालिका–०८ को महेश्वरी डेरी उद्योगमा दही उत्पादनको लागि अनुमति पत्र नलिएको र प्रयोगशाला व्यवस्थित नरहेको पाइएकाले नियमित सरसफाइ, चिस्यान कक्ष र प्रयोगशाला व्यवस्थित गर्दै दही उत्पादनको अनुमति पत्र लिने प्रक्रिया तत्काल अघि बढाउन आदेश दिइएको छ। सोही ठाउँको ओम सञ्जिवनी डेरी प्रा. लि. को भण्डारण कक्षमा पनि एसएमपी र चिनी भेटिएकाले नियमित सरसफाइ र चिस्यान कक्षलाई थप व्यवस्थित बनाउन निर्देशन दिइएको छ।

यसैगरी प्राप्त जनगुनासोका आधारमा गरिएको अनुगमनअन्तर्गत कीर्तिपुर–०८ स्थित जेन जिप्स क्याफेमा गुणस्तरहीन पपकर्न बिक्री गरिएको विषयमा छानबिन गर्दा मकैलाई राम्ररी केलाएर र सुकाएर मात्रै प्रशोधन गर्न निर्देशन दिँदै मकै र पपकर्नको नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।
कीर्तिपुर–०९ मा रहेको पूजा स्वीट्समा सरसफाइमा कमी रहेको र समोसा लगायतका खानेकुरा मसीजन्य पत्रपत्रिकामा प्याक गर्ने गरेको पाइएकाले पत्रपत्रिकामा खाना प्याक नगर्न र किट नियन्त्रणको व्यवस्था मिलाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
चन्द्रागिरी–०८ स्थित होली माउन्टेन फुड एण्ड वेभरेज प्रा. लि. को जारको पानीमा नराम्रो गन्ध आएको गुनासोपछि अनुगमन गरी प्रशोधित पिउने पानीको नमुना सङ्कलन गरेर प्रयोगशाला पठाइएको छ। विभागले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता लापरवाहीमाथि निरन्तर कडा निगरानी र अनुगमन जारी राख्ने जनाएको छ।