काठमाडौं — श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिबारे संसद्मै आएर स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले नैतिक जिम्मेवारी बहन गर्दै सार्वभौम संसद्मा उपस्थित भएर जनता र जनप्रतिनिधिलाई जवाफ दिनुपर्ने बताए।
विभिन्न बहानामा देशमा अराजकता र असुरक्षा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, “जनता आज सुरक्षा, न्याय र सहज सुविधाबाट वञ्चित हुनुपरेको छ। यो सबै परिस्थिति प्रधानमन्त्री शाहको गैरजिम्मेवार कार्यशैलीकै परिणाम हो।”
प्रधानमन्त्रीको अभिव्यक्तिको कडा शब्दमा आलोचना गर्दै सांसद राईले संसद्मा प्रश्न गरे:
“यस्तो पनि देश हुन्छ? जहाँ देशकै प्रधानमन्त्री स्वयम्ले ‘हामीले छिमेकी मुलुकको सीमा मिचेका छौँ’ भनेर गैरजिम्मेवार बयान दिन्छन्! नागरिक मात्र होइन, आज हामी सांसदहरूसमेत सुरक्षित छैनौँ।”
देशमा विधिको शासन कायम गर्न संसद् र जनप्रतिनिधिहरू तयार रहेको उल्लेख गर्दै उनले थपे, “नैतिकता नै सबैभन्दा ठूलो बल हो। नैतिकता गुमाएपछि कसैले पत्याउनेवाला छैन। त्यसैले प्रधानमन्त्री शाहले आफ्नो ‘बालहठ’ त्यागेर तत्काल सदनमा उपस्थित भई स्पष्टीकरण दिनुपर्छ।”