काठमाडौं, २५ साउन। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड भइरहेको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका दुई खाद्य व्यवसायमा आकस्मिक अनुगमन (र्यापिड रेस्पोन्स) गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
विभागले गत साउन २२ गते गरेको बजार निरीक्षणका क्रममा कागेश्वरी मनोहरास्थित एक खाजा घर र नागार्जुनस्थित गुँदपाक भण्डारमा गम्भीर लापरबाही र असन्तोषजनक सरसफाइ भेटिएपछि कारबाही गरेको हो।
मसीयुक्त पत्रिकामा निम्की बिक्री, १५ दिनभित्र हाजिर हुन निर्देशन विभागको टोलीले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ स्थित नगर अस्पताल परिसरमा सञ्चालित ‘खाडा देवी खाजा घर’मा अनुगमन गर्दा अखाद्य तरिकाले खानेकुरा बिक्री भइरहेको फेला पारेको थियो। स्वास्थ्यका लागि हानिकारक मानिने छापाखानाको मसीयुक्त पत्रपत्रिकामा राखेर निम्की बिक्री गरिरहेको पाइएपछि अनुगमन टोलीले करिब २०० ग्राम निम्की अस्पताल प्रशासनको रोहबरमा तत्काल नष्ट गरेको छ।
यस्तै, सो खाजा घरमा लेबल विवरण नभएका खाद्य सामग्री भण्डारण गरिएको, फ्रिजमा अव्यवस्थित रूपमा खानेकुरा राखिएको, कीट नियन्त्रणको व्यवस्था नभएको र भान्साघरमै भाँडा धुने तथा कच्चा पदार्थ राख्ने गरिएको भेटिएको छ। विभागले ती तमाम कैफियतहरू सुधार गरी प्रमाणसहित १५ दिनभित्र विभागमा उपस्थित हुन सञ्चालकलाई निर्देशन दिएको छ।
ए वान गुँदपाक भण्डारको नमुना सङ्कलन यसैगरी, नागार्जुन नगरपालिका वडा नं. ४ मा रहेको ‘ए वान गुदपाक एण्ड पुष्टकारी भण्डार’मा गुँदपाकमा ढुसी र लेउ भेटिएको गुनासोपछि विभागले छापा मारेको थियो। अनुगमनका क्रममा ढुसी वा लेउ नै त नभेटिए पनि प्याकिङ क्षेत्रको ढोकाको जाली च्यात्तिएको, काठ भाँचिएको र कच्चा पदार्थहरू अव्यवस्थित रूपमा राखिएको पाइएको छ।
उद्योगमा सरसफाइको अवस्था निकै फोहोर रहेको र कीट नियन्त्रणको उचित प्रबन्ध नभएको पाइएपछि विभागले तत्काल सुधार गर्न कडा निर्देशन दिएको छ। साथै, गुँदपाकको गुणस्तरबारे थप अनुसन्धान गर्न प्रयोगशाला परीक्षणका लागि नमुना (स्याम्पल) समेत सङ्कलन गरिएको विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले जानकारी दिनुभयो।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने जुनसुकै व्यवसायमाथि अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।