काठमाडौं, २५ साउन।
सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्। साउन २५ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
सरकार र पीडित परिवारबीच भएको लिखित सम्झौतामा मृतकहरूलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति तथा परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने र सात दिनभित्र घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाइएको थियो। तर, लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्बाट निर्णय हुन नसक्दा पीडितको पीडा र जनआक्रोश थप बढेको विज्ञप्तिमा उल्लेख छ।
विशेषगरी काठमाडौंमा उपचारका क्रममा निधन भएका रविन्द्र मेहताको शव एक सातादेखि अन्त्येष्टि हुन नसकेको विषयलाई उनीहरूले गम्भीर र दुःखद भनेका छन्।
संयुक्त विज्ञप्तिमा देवानगञ्ज घटनाका मृतक ओमप्रकाश मेहता, जयप्रकाश मेहता, सिरहाको गोलबजार घटनाका मृतक गणेश यादव तथा उपचारका क्रममा निधन भएका रविन्द्र मेहतालाई तत्काल शहीद घोषणा गर्न, क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्न तथा दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ। माग पूरा नभए शान्तिपूर्ण र सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ।
विज्ञप्तिमा जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम मिया अंसारी, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहताले हस्ताक्षर गर्नुभएको छ।