नेपालगञ्ज, २५ साउन। बास नेपालको आयोजनामा सञ्चालित ७ दिने आधारभूत उद्घोषण तालिम आज एक कार्यक्रमका बीच नेपालगञ्जमा सम्पन्न भएको छ। गत साउन १८ गतेदेखि सुरु भएको उक्त तालिमको समापन कार्यक्रम बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको हो।
तालिममा प्रशिक्षकहरू मन भण्डारी, हेमराज भट्ट, रबिन्द्र बोहोरा र लुना बुढाथोकीले सहभागीहरूलाई उद्घोषणसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्नुभएको थियो।
समापन समारोहका प्रमुख अतिथि तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले तालिममा सिकेका आधारभूत कुराहरूलाई आ-आफ्नो कार्यक्षेत्रमा उतार्न आग्रह गर्नुभयो। जीवनमा सिकाइको कहिल्यै अन्त्य नहुने उल्लेख गर्दै उहाँले ‘जीवन एक सिकाइ हो’ भन्ने भावना आत्मसात गरेर अघि बढ्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।
कार्यक्रममा तालिमका सहभागीहरू यामा केसी र रत्न बुढाले ७ दिनको सिकाइ अनुभव र प्रतिक्रिया प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा तालिम सफलतापूर्बक पूरा गर्ने सहभागीहरूलाई अध्यक्ष तथा अतिथिहरूका तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो।
समापन सत्रको सञ्चालन तालिमकी सहभागी बबिता ढकालले गर्नुभएको थियो।