पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत संयोजक प्रचण्डले समयमा रासायनिक मलको सहज आपूर्ति नहुँदा देशभरका किसानहरू ठूलो समस्यामा परेको भन्दै तत्काल ध्यान आकर्षण गराएका हुन्।
“सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन,” उनले भनेका छन्।
बजारमा उपलब्ध भएका सीमित मलसमेत कालोबजारी र बिचौलियाका कारण वास्तविक किसानसम्म नपुगेको र समन्यायिक ढंगले वितरण हुन नसकेको व्यापक गुनासो आइरहेको उनले बताएका छन्।
संयोजक प्रचण्डले मल आयातको प्रक्रिया अलि जटिल हुने भएकाले यसका लागि समयमै पूर्वतयारी आवश्यक रहनेतर्फ सरकारको ध्यान ध्यानाकर्षण गराएका छन्। आफू नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको संवेदनशीलता बुझेर समयमै आपूर्ति र वितरणको व्यवस्था मिलाउनुका साथै आगामी आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको उनले स्मरण गराएका छन्।
सामाजिक सञ्जालको अन्त्यमा उनले लेखेका छन्, “यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न आग्रह गर्दछु।”