मिर्मिरे अनलाइन
काठमाडौँ, साउन २३ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका छन्। उपचारका क्रममा विगत पाँच महिनादेखि विदेशमा रहेका देउवा आगामी साउन २८ गते बिहीबार नेपाल फर्किने भएका हुन्।
यसअघि साउन २६ गते नै नेपाल फर्किने तालिका तय भए पनि उनी हङकङबाट बैंकक लागेपछि स्वदेश फिर्ती दुई दिन पछि सरेको देउवा निकट स्रोतले जनाएको छ। शुक्रबार हङकङबाट बैंकक पुगेका देउवा साउन २८ गते दिउँसो थाइ एयरको विमानमार्फत काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। उक्त भेलाका लागि देशभरबाट काठमाडौँ आउँदै गरेका नेता तथा कार्यकर्ताहरूलाई साउन २८ गते विमानस्थल पुगेर सभापति देउवाको भव्य स्वागत गर्ने तयारी मिलाइएको छ।
गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुनुका साथै देउवा दम्पत्तिको शरीरमा चोटपटक लागेको थियो। नेपालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिंगापुर लगिएका देउवा ‘फलोअप’का लागि गत फागुन १३ गते पुनः सिंगापुर गएका थिए। Singapore बाट पत्नी आरजु राणा देउवासहित हङकङ पुगेर लामो समय उपचाररत रहेका देउवा बैंकक हुँदै अब साउन २८ मा स्वदेश फर्किन लागेका हुन्।