सङ्कटमा असला माछाः संरक्षणको योजना बनाउँदै पालिका

सङ्कटमा असला माछाः संरक्षणको योजना बनाउँदै पालिका

  • शनिबार, साउन २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

बागलुङ २३ साउनः असला माछा उत्पादन गर्नेमा प्रसिद्ध बागलुङको जैमिनी नगरपालिकाको ठउलेखोलामा माछा लोप हुने थालेपछि स्थानीय सरकारले संरक्षणको योजना बनाएको छ । जिल्लाका स्थानीय खोलामा पाइने असला माछा लोप हुन थालेपछि स्थानीय सरकारले संरक्षणका लागि माछा मार्न प्रतिबन्ध लगाउनेलगायत योजना बनाउन थालेको हो ।

बागलुङका स्थानीय खोलामा पाइने रैथाने असलामाछा हराउने चुनौती बढेपछि बागलुङमा एकपछि अर्को स्थानीय तहले माछा मार्न कडाई गर्न थालेका छन् । गलकोट नगरपालिकाले तीन वर्षयता प्रजनन समयमा माछा मार्न प्रतिबन्ध लगाउँदै आएको छ । गलकोटको दरमखोलामा पाइने असला माछा देशभरि प्रसिद्ध छ । गत वर्ष तराखोला गाउँपालिकाले माछा मार्नमा कडाइ गर्न थालेको थियो । ताराखोला गाउँपालिका र बागलुङका काठेखोला गाउँपालिकाले एक वर्ष अघिदेखि माछा मार्न कडाइ गर्दै संरक्षणको नीति लिएका हुन् ।

यस वर्षदेखि जैमिनी नगरपालिकाले ठेउलेखोलासहित अन्य खोलामा तीन महिना माछा मार्न रोक लगाउँदै अनुमतिको व्यवस्था गरेको छ । ठेउलेखोला, टिमुर खोला, कालुङ्खोला, चौरीखोला, लौवालगायत स्थानीय खोलामा पाइने असला र अन्य स्थानीय जातका माछा संरक्षणसँगै स्थानीयलाई रोजगारी सृजना गर्नका लागि नगरसभाबाट नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयन गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

“ठेउले खोलाको असला माछा निकै स्वादिष्ट मानिन्छ, रातिको समयमा माछामा विष हाल्ने तथा करेन्ट लगाएर मार्ने गतिविधिले उत्पादन घटेको पाइयो । नगरपालिकाले माछा मार्न इच्छुकलाई इजाजत दिएर प्रजनन अवधिबाहेकको समयमा आम्दानी बढाउन सघाउँनेछ”, शर्माले भन्नुभयो, “फूल पार्ने तथा उत्पादन गर्ने समयमा माछा मार्दा यसको बासस्थान हराएर जाने र कालान्तरमा स्थानीय (रैथाने) जातको माछा फेला नपर्ने अवस्था आउन नदिन नगरपालिका सचेत छ । प्रहरीलाई पनि सक्रिय बनाएका छौँ ।”

खोलामा माछा मार्नुअघि अनिवार्य रूपमा अनुमति (इजाजत) लिनुपर्ने व्यवस्था लागू गरिएको उपप्रमुख शर्माले बताउनुभयो । जलचर तथा जैविक विविधताको संरक्षण, दिगो उपयोग र माछा उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले नीति लिएको उहाँको भनाइ छ ।

माछालाई परम्परागत शैलीमा मात्र मार्न पाइनेगरी नगरपालिकाले नीति लिएको हो । विद्युतीय उपकरण तथा विषादी हालेर माछा मार्न थालेपछि यसको अस्तित्व सङ्कटमा पर्ने भन्दै स्थानीयले पटकपटक नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए ।

स्थानीय पदमबहादुर श्रीसले यहाँको ठेउलेखोलामा पाइने असला माछा चोरी सिकारीका कारण घट्न थालेका बताउनुभयो । उहाँले रातिमा करेन्ट लगाएर माछा मार्ने काम भइरहेको बताउँदै संरक्षणमा पालिकाले ध्यान नदिए ठेउलेखोलाका असला माछाको पहिचान सकिनेमा चिन्ता व्यक्त गर्नुभयो ।

“एकरातमा २५ किलो माछा मारेर लैजानेगरी टाढाटाढाबाट युवा आएका हुन्छन् । ठेउलेखोलाको स्वादिष्ट असला माछा सधैँभरि चाख्न यहाँकै स्थानीयले मार्ने र स्थानीय बजारबाटै बिक्री गर्ने व्यवस्थामा नगरपालिका अघि बढोस् । माछा मार्न प्रतिबन्द लगाउने कार्य सह्रानीय छ”, श्रीसले भन्नुभयो । करेन्ट लगाएर माछा मार्दा भु्रणसमेत मर्ने भएकाले माछा लोप हुने अवस्थामा पुग्ने उहाँले गुनासो गर्नुभयो ।

जैमिनीको पहिचानको रुपमा स्थापित भइसकेको ठेउलेखोलाको असला माछा जोगाउन सके स्थानीयलाई रोजगारीसँगै रेष्टुराको परिकारमा थप स्वाद आउने छ । नगरपालिकाले प्रजनन संरक्षणका लागि भदौ, असोज र कात्तिक महिनाभर माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाउँदै आएको छ । यस अवधिमा माछा मार्ने, समात्ने वा अन्य कुनै गतिविधि गरेको पाइए कारबाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।

गलकोट नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षमा उत्पादनमा वृद्धि भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । पालिकाहरूले इजाजत नलिई जलचरको उपयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

जलचर संरक्षण तथा व्यवस्थापन अभियानमो प्रहरीलाई खबर गरेर सहयोग गर्न पनि नगरपालिकाले स्थानीयको ध्यानाकर्षण गराएको छ । माछालाई परम्परागत तरिकाले मात्रै मारेर व्यावसायिक बनाउँदै युवालाई स्वरोजगार गराउन पालिकाले संरक्षणको योजनामा ध्यान दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ