इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको इजरायली सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
इजरायली टेलिभिजन च्यानल-१४ (C-14) ले इरानभित्रका कूटनीतिक तथा गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको स्वास्थ्य अवस्था ‘अत्यन्त चिन्ताजनक’ रहेको र यो खबर इरानी सत्ताका उच्च अधिकारीहरूसम्म फैलिसकेको जनाएको छ।
त्यस्तै, ‘जेरुसेलम पोस्ट’ ले इरानको राष्ट्रपति मसुद पेजेस्कियानको प्रशासन नजिकका स्रोतहरू तथा ‘इरानवायर’ लाई उद्धृत गर्दै छिट्टै खामेनीको निधनको खबर आउन सक्ने सम्भावना व्यक्त गरेको छ।
अमेरिका-इजरायल हमलामा घाइते भएको आशंका
गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएपछि उनका छोरा मोज्तबाले इरानको सर्वोच्च कमान्ड सम्हालेका थिए।
तथापि, सर्वोच्च नेताको जिम्मेवारी लिएयता उनी अहिलेसम्म कुनै पनि सार्वजनिक कार्यक्रममा प्रत्यक्ष देखिएका छैनन्। उनले आफ्ना लिखित वक्तव्य र सन्देशहरू अन्य अधिकारीहरूमार्फत मात्र सार्वजनिक गर्दै आएका छन्।
रिपोर्टहरूका अनुसार अमेरिका र इजरायलको पहिलो दिनकै संयुक्त आक्रमणका क्रममा मोज्तबा पनि गम्भीर घाइते भएका थिए। अनुहार तथा शरीरमा लागेको चोटका कारण उनी सार्वजनिक रूपमा बाहिर आउन नसकेको र लुकेर बस्न बाध्य भएको दाबी गरिएको छ।
राष्ट्रपति पेजेस्कियानको अभिव्यक्तिले शङ्का थप्यो
मोज्तबाको स्वास्थ्य अवस्था र उनको स्थितिबारे इरानका राष्ट्रपति मसुद पेजेस्कियानले हालै राष्ट्रिय टेलिभिजनमार्फत दिएको वक्तव्यले यी दाबीहरूलाई थप बल पुर्याएको छ। अन्तर्वार्ताका क्रममा उनले सर्वोच्च नेता खामेनीसँग प्रत्यक्ष सम्पर्क र अन्तरक्रिया गर्न अहिले ‘निकै कठिन’ भइरहेको स्वीकार गरेका थिए।
यसअघि गत जुलाईमा साउदी सञ्चारमाध्यम ‘अल-हदाथ’ ले इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै मोज्तबा खामेनी इरानमै नरहेको दाबी गरेको थियो। सोही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि एक अन्तर्वार्तामा इरानको शीर्ष सैन्य नेतृत्व समाप्त पारिएको र खामेनीको स्थिति कमजोर बनिसकेको टिप्पणी गरेका थिए।
इरानी सरकारी अधिकारीहरूले भने अन्तर्राष्ट्रिय मिडियामा आएका यी सबै दाबी र प्रतिवेदनहरूको निरन्तर खण्डन गर्दै आएका छन्।