सरकारले बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो १५ दिनको नतिजा सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विजेता उपभोक्ताहरूलाई फोन गरेर बधाई दिएका छन्।
आन्तरिक राजस्व विभागको आयोजनामा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले १५ जना १-१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँका बम्पर विजेता छनोट गरेका हुन्। गत साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वा नगदमा वस्तु तथा सेवा खरिद गरी विभागको प्रणालीमा बिल दर्ता गराएका उपभोक्ताहरू यस कार्यक्रममा सहभागी थिए।
१० लाख जित्ने हेमराज र १ लाख जित्ने सपनालाई अर्थमन्त्रीको बधाई
साउन १ देखि १५ गतेसम्मको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्न सफल कञ्चनपुरको पुनर्वास नगरपालिकाका हेमराज जोशीलाई अर्थमन्त्री वाग्लेले टेलिफोन गरेर बधाई दिएका छन्। जोशीले गत साउन ७ गते शिवकृष्ण जेनरल स्टोर्सबाट अनलाइन बैंकिङ (क्यूआर स्क्यान) मार्फत जम्मा २५० रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँ जितेका हुन्।
फोन सम्पर्क गर्दै अर्थमन्त्री वाग्लेले भने:
“तपाईँलाई बधाई छ। बिल लिने र दिने बानी बसाल्न सरकारले सुरु गरेको प्रोत्साहन कार्यक्रममा तपाईँले बम्पर उपहारस्वरूप १० लाख जित्नुभयो। तपाईँलाई कर कार्यालयका साथीहरूले सम्पर्क गर्नुहुन्छ है।”
यसैगरी, रुपन्देही देवदहकी सपना खरेललाई पनि अर्थमन्त्रीले फोन गरेर बधाई दिएका छन्। उनले साउन ९ गते शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी किन्दा १ लाख रुपैयाँ पुरस्कार जितेकी हुन्। अर्थमन्त्रीले उनलाई खरिद गरेको सामानको सक्कल बिल सुरक्षित राख्न आग्रह गरेका छन्।
कसरी सहभागी हुने करदाता प्रोत्साहन कार्यक्रममा?
सरकारले यही साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको यस कार्यक्रमको मुख्य उद्देश्य उपभोक्ताहरूमा भ्याट वा प्यान बिल लिने बानीको विकास गर्नु हो।
-
अनलाइन भुक्तानी गर्दा: क्यूआर (QR) कोड, डिजिटल वालेट वा कार्डमार्फत अनलाइन भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेमा उपभोक्ताहरू स्वतः यो उपहार प्रणालीमा सहभागी हुनेछन्। (भ्याट/प्यान बिल भने अनिवार्य लिनुपर्नेछ)।
-
नगद भुक्तानी गर्दा: नगदमा सामान किनेका उपभोक्ताले अनिवार्य रूपमा सक्कल भ्याट/प्यान बिल लिई त्यसलाई आन्तरिक राजस्व विभागको ‘उपहार पोर्टल’ (Gift Portal) मा गएर दर्ता गराउनुपर्नेछ।
कति मिल्छ पुरस्कार र कसरी हुन्छ घोषणा?
-
दैनिक पुरस्कार: हरेक दिन १ जनालाई करकट्टी गरी खुद १ लाख रुपैयाँ (कूल रु. १,३३,३३४ मा २५% कर कट्टी गरी)।
-
बम्पर पुरस्कार: हरेक १५-१५ दिनमा २ जनालाई १०-१० लाख रुपैयाँ (जसमा २५% नियमानुसार कर लाग्नेछ)।
-
घोषणा मिति: उपहारको नतिजा हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन सार्वजनिक गरिनेछ।
आन्तरिक राजस्व विभागले बाँकी विजेताहरूलाई पनि सम्पर्क गरी पुरस्कार हस्तान्तरणको विस्तृत प्रक्रियाबारे जानकारी गराउने जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline