गाभीले नेपाललाई ५ करोड ७६ लाख डलरभन्दा बढीको खोप र नगद अनुदान दिने

गाभीले नेपाललाई ५ करोड ७६ लाख डलरभन्दा बढीको खोप र नगद अनुदान दिने

  • शुक्रबार, साउन २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, २२ साउनः  नेपाललाई ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले आगामी चार वर्षका लागि ठूलो परिमाणमा खोप सहयोग तथा नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। शुक्रबार नेपाल सरकार र गाभी प्रतिनिधिमण्डलबीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यका विषयमा भएको उच्चस्तरीय छलफलका क्रममा उक्त सहयोग प्रस्ताव अघि सारिएको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगान नेतृत्वको टोलीबीच भएको बैठकमा आगामी चार वर्षको खोप सहयोग, सह-वित्तीय लगानी (Co-financing) र कार्यक्रमको वित्तीय दिगोपनाबारे गहन छलफल भएको छ।कति पाउनेछ नेपालले सहयोग?

बैठकमा गाभीले आगामी २०२७-२०३० को अवधिका लागि नेपाललाई कूल ५ करोड ७६ लाख ६० हजार अमेरिकी डलर (करिब साढे ७ अर्ब नेपाली रुपैयाँभन्दा बढी) बराबरको सहायता प्रस्ताव गरेको छ: खोप सहयोग: ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप।

नगद अनुदान: १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान।
नेपालको सह-लगानी: प्रस्तावित सहयोगअन्तर्गत नेपाल सरकारले १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी (Co-financing) गर्नुपर्ने विषयमा पनि प्रारम्भिक छलफल भएको छ।

२५ वर्षको फलदायी सहकार्य
नेपाल र गाभीबीच सन् २००१ देखि रणनीतिक सहकार्य सुरु भएको हो। विगत २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, ‘कोल्ड चेन’ पूर्वाधार तथा समग्र स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग पुर्‍याइसकेको छ। हाल गाभीले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराइने ११ वटा खोपमध्ये ५ वटा खोपमा सह-लगानी गर्दै आएको छ भने १ प्रकारको खोप पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउँदै आएको छ।

विश्वव्यापी रूपमा वैदेशिक सहायता घट्दै गएको परिस्थितिमा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई कसरी दिगो र आत्मनिर्भर बनाउने भन्नेबारे समेत बैठकमा छलफल भएको थियो। गाभी टोलीले खोप कभरेज र स्वास्थ्य सुधारमा मन्त्री मेहताको नेतृत्व तथा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ