विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

काठमाडौँ, २१ साउनः सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य स्थानका सुकुमवासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

बालबालिकाका क्षेत्रमा क्रियाशील सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारका क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयका तर्फबाट बरुण बस्यालसहितले दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको छ ।

अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना, पठनपाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ । आदेशमा सुकुमवासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुनसक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्नसक्ने अवस्था रहेको उल्लेख गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले विस्थापित बालबालिकाको पहिचान र प्रमाणीकरण गरी विद्यालय भर्ना भएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा भर्ना नभएका बालबालिकालाई साउन मसान्तभित्र नजिकको विद्यालयमा अनिवार्य र निःशुल्क भर्ना गराउन आदेश दिएको छ ।

साथै, निःशुल्क पाठ्यपुस्तक, पोशाक, यातायात सुविधा, शैक्षिक सामग्री, मनोसामाजिक परामर्श तथा अपङ्गता भएका बालबालिकाका लागि आवश्यक सहयोगी सेवासमेत उपलब्ध गराउन भनिएको छ । अदालतले विस्थापनबाट थप असर पर्ने अवस्था भए आवश्यकताअनुसार आवासीय शिक्षाको व्यवस्था गर्न तथा बालबालिकाका लागि अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

त्यसैगरी, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा बिरामी व्यक्तिका लागि अस्थायी व्यवस्थालाई उनीहरूको विशेष आवश्यकताअनुसार गुणस्तरीय बसोबास र आवश्यक स्वास्थ्य सेवासहित सुनिश्चित गर्न आदेशमा उल्लेख गरिएको छ । रिटमा सुकुमवासी बस्तीबाट विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा अन्य मौलिक अधिकार संरक्षणका लागि अन्तरिम आदेश माग गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी