काठमाडौँ, २१ साउनः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक युवराज दुलालले देशको वर्तमान परिस्थिति, शैक्षिक पाठ्यक्रम र नयाँ पुस्तालाई दिइने शिक्षाका सम्बन्धमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक’ उपर भएको सैद्धान्तिक छलफलका क्रममा बोल्दै मुख्य सचेतक दुलालले नयाँ पुस्तालाई राजनीति र देशको इतिहास बुझाउने शैलीमा तत्काल सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।
छलफलका क्रममा नेता दुलालले संसदीय समिति र संसद्मा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई प्रमुखताका साथ उठाए। प्रधानमन्त्री संसद् र समितिभन्दा माथि रहने मानसिकता हावी हुन नहुने उनको भनाइ थियो। “हामीले पटक-पटक प्रधानमन्त्रीज्यूलाई संसद् र समितिमा खोज्छौँ। समिति र संसद्भन्दा आफू माथि रहेको मानसिकता कतै न कतै देखिन्छ, जुन उचित होइन,” दुलालले भने।
देशको विद्यमान शैक्षिक पाठ्यक्रम र राजनीतिक भाष्यबारे टिप्पणी गर्दै दुलालले नयाँ पुस्तालाई केवल नकारात्मकता मात्र पढाउनु दुःखद भएको बताए। “हाम्रो पाठ्यक्रममा नैतिक शिक्षाको अभाव छ। हामीले नयाँ पुस्तालाई देश कसरी राजनीतिक परिवर्तन, गरिबी र विभेदको अन्धकारबाट आजको अवस्थासम्म आइपुग्यो भन्ने कुरा सिकाउन सकेका छैनौँ,” उनले थपे, “हामीले केवल राजनीति खराब हो, नेताहरू भ्रष्ट हुन् भन्ने नकारात्मक कुरा मात्र सिकाएका छौँ। तर यही राजनीतिले देशलाई अधिकारसम्पन्न र स्वतन्त्र बनाएको यथार्थ बुझाउन चुकेका छौँ।”
राष्ट्रिय सेवा दलमार्फत किशोर-किशोरीहरूलाई दिइने तालिमको सन्दर्भमा बोल्दै मुख्य सचेतक दुलालले यसको वैज्ञानिकता र सान्दर्भिकतामाथि प्रश्न उठाएका छन्। वर्तमान समय, प्रविधि र देशको बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै यस्तो तालिम कत्तिको जायज र उद्देश्यमूलक हुन्छ भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्ने उनको तर्क छ।