‘सरकारले सेनालाई सस्तो बनायो, सानै घटनामा परिचालन गर्दा विश्वास गुम्छ’: जेनजी अभियन्ता मिराज ढुंगाना।

‘सरकारले सेनालाई सस्तो बनायो, सानै घटनामा परिचालन गर्दा विश्वास गुम्छ’: जेनजी अभियन्ता मिराज ढुंगाना।

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 912
    SHARES

काठमाडौँ, २१ साउनः सरकारले साना-साना आन्तरिक घटना नियन्त्रणमा समेत सेना परिचालन गरेर राष्ट्रिय सुरक्षाको बलियो खम्बा मानिएको नेपाली सेनालाई सस्तो र कमजोर बनाएको आरोप जेनजी (Gen-Z) अभियन्ता मिराज ढुंगानाले लगाएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अभियन्ता ढुंगानाले आन्तरिक शान्ति सुरक्षा कायम गर्ने बहानामा बारम्बार जङ्गी अड्डाबाट सेना निकाल्दा सेनाप्रति सर्वसाधारणमा रहेको उच्च विश्वास र वर्चस्व गुम्ने चेतावनी दिए। सेनाप्रति जनताको विश्वास हट्दै गए दीर्घकालमा राष्ट्रिय सुरक्षामा नै गम्भीर असर पर्ने र मुलुकमा अप्रत्याशित संकट आउन सक्ने उनको भनाइ थियो।

‘कप्तानगन्ज घटनामा प्रहरीको गोली र सेना परिचालन दुवै गलत’

सुनसरीको कप्तानगन्जमा हालै भएको साम्प्रदायिक झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउनु र स्थिति साम्य पार्न सेना उतार्नु दुवै कदम पूर्णतः गलत भएको ढुंगानाले बताए। उनले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले समेत निहत्था युवाहरूमाथि गोली हानेको भन्दै दुःख व्यक्त गरे।

“सेनालाई यति सस्तो पारियो कि सानोभन्दा सानो घटनामा पनि जङ्गी अड्डाबाट सेना निस्कन थाल्यो भने सेनाको जुन वर्चस्व आजसम्म कायम थियो, त्यो भोलि रहँदैन,” ढुंगानाले भने, “जुन दिन नेपाली जनताको विश्वास सेनाबाट हट्छ र द्वन्द्व गर्ने मान्छेहरू सेनासँग डराउन छाड्छन्, त्यसपछि कस्तो नरसंहार होला? त्यो हामी आफैँ कल्पना गर्न सक्छौँ।”

द्वन्द्व र हुलहुज्जत नियन्त्रणका लागि नेपाल प्रहरीले घातक हतियार (Lethal Weapons) को साटो अत्याधुनिक नन-लिथल (प्राणघातक नभएका) उपकरणहरू प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

कप्तानगन्ज हिंसाको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने

कप्तानगन्जको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने र घाइते हुने अधिकांश व्यक्ति युवा तथा जेन-जी उमेर समूहकै रहेको उल्लेख गर्दै अभियन्ता ढुंगानाले उक्त घटनाको सम्पूर्ण नैतिक र राजनीतिक जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने माग गरे। भारतमा हालै भएको सीजेपी (CJP) आन्दोलनमा समेत प्रहरीले गोली नचलाएको उदाहरण दिँदै उनले नेपालमा भने स-साना झडपमै गोली चल्नु र युवाको ज्यान जानु अत्यन्तै चिन्ताजनक रहेको टिप्पणी गरे।

पेट्रोलियमको मिसावट र असंलग्न परराष्ट्र नीतिमा प्रश्न

नेपाल बहुजातीय र सामाजिक रूपमा अत्यन्तै संवेदनशील मुलुक भएकाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा सरकारले परिपक्व नीति लिनुपर्नेमा उनले जोड दिए। राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई प्राथमिकतामा राखेर एकीकृत सुरक्षा रणनीति बनाउन उनले आग्रह गरे।

यसैगरी, अभियन्ता ढुंगानाले बजारमा पेट्रोलियम पदार्थमा भइरहेको मिसावट तत्काल रोक्न र इन्धनको मूल्य घटाउन सरकारसँग माग गरे। साथै, नेपाली भूभागभित्र चीन विरोधी गतिविधिहरू भइरहेको दाबी गर्दै उनले वर्तमान सरकारको असंलग्न परराष्ट्र नीतिको कार्यान्वयनमाथि समेत प्रश्न उठाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ