देशभर खाना पकाउने एलपीजी (LPG) ग्यासको अभावको हल्ला फैलिएपछि धनुषाको जनकपुरधाम नगर क्षेत्रमा ग्यास डिलरहरूको अनुगमन तीव्र पारिएको छ।
नेपाल आयल निगम इन्धन डिपो महेन्द्रनगरका प्रमुख राजेश सिलवालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको सहयोगसहित खटिएको ५ जनाको टोलीले नगर क्षेत्रका विभिन्न डिलर तथा बिक्री केन्द्रहरूमा पुगेर मौज्दातको अवस्था जाँच गरिरहेको छ।
अनुगमन टोलीले रामानन्द चोक, बलवा टोल, थापा चोक, पिडारी चोक, रजौल, सरस्वती टोल लगायतका स्थानमा रहेका डिलरहरूमा खाली र भरिएका सिलिन्डरको सोधपुछ तथा अनुगमन गरिसकेको छ।
अनुगमनमा के भेटियो?
इन्धन डिपो प्रमुख राजेश सिलवालका अनुसार हालसम्म ७/८ वटा मुख्य डिलरहरूमा अनुगमन गर्दा अधिकांशमा ग्यास सकिएको र केहीमा थोरै मात्र मौज्दात रहेको भेटिएको छ।
“जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अनुगमन थालेका छौँ। मौज्दात भेटिएका डिलरहरूबाट स्थानीय उपभोक्तालाई आवश्यकता अनुसार तुरुन्त ग्यास बाँड्ने प्रबन्ध मिलाएका छौँ,” सिलवालले भने।
टोलीले नेहा ट्रेडर्स रजौल, न्यु श्रृष्टि ट्रेडर्स भमरपुरा, भावना एण्ड ज्योति ट्रेडर्स, आस्था इन्टरप्राइजेज पिडारी चोक लगायतका स्थानमा अनुगमन गरेको छ। टोलीले डिलरमा ग्यास भित्रिने दर विगतको तुलनामा नघटेको र बाहिर हल्ला भएजस्तो चरम संकट नरहेको दाबी गरेको छ। सर्वसाधारणले त्रासका कारण घरमा धेरै सिलिन्डर स्टक राख्न खोज्दा पनि समस्या देखिएको टोलीको भनाइ छ।
साथै, ग्यास वितरण सहज बनाउन र अनुगमन टोलीले डिलरहरूसँग सहजीकरण गर्दै सर्वसाधारणका लागि फोन नम्बरसमेत सार्वजनिक गरेको छ।
आयल निगमको दाबी एकातिर, उपभोक्ताको सास्ती अर्कोतिर
अनुगमन टोलीले ग्यासको चरम अभाव नभएको र कालाबजारी वा बढी मूल्य लिएको प्रमाण नभेटिएको बताए पनि स्थानीयबासी भने रित्तो सिलिन्डर बोकेर दिनभर भौँतारिन बाध्य छन्।
नियमित लिइरहेको डिलरमा ग्यास नहुने र नयाँ डिलरमा जाँदा “पहिले नै नाम टिपाएकाहरूलाई मात्र दिने” भन्दै फर्काइदिने गरेको स्थानीयको गुनासो छ।
“ग्यास नपाएर हैरान भएको छु। आफूले लिइरहेको ठाउँमा ग्यास छैन। ग्यास आएको ठाउँमा लिन जाँदा पहिले नै नाम टिपाएर राखेकाहरूलाई मात्र दिने भन्दै फर्काइदिन्छन्,” बलवा टोलका बासिन्दा रमेश सुडीले दुःखेसो पोखे।
ग्यास नपाएपछि आजभोलि जनकपुरका बजारमा खाली सिलिन्डर बोकेर हिँड्ने उपभोक्ताहरूको लाम देखिन थालेको छ भने ग्यासको विकल्पमा धेरैजसोले इन्डक्सन तथा बिजुलीबाट चल्ने पकाउने उपकरण खरिद गर्न थालेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline