लामो समयको प्रतीक्षापछि अन्तिम चरणमा पुगेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक खण्डमा नवनिर्मित कालोपत्रे दबेपछि स्थानीय तथा यात्रुहरूमाझ गुणस्तरलाई लिएर चासो र चिन्ता बढेको छ।
विभिन्न सञ्चारमाध्यममा ‘सडक भासियो’ भन्दै तस्बिरसहित समाचार सार्वजनिक भएपछि बुटवल–नारायणगढ सडक आयोजना (पश्चिम खण्ड) ले प्राविधिक स्पष्टीकरण दिएको छ। आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विकास खनालका अनुसार सडकको संरचना नै भत्किने गरी भासिएको नभई भारी सवारीसाधनको चापका कारण कालोपत्रे दबेको (रट फर्मेसन) मात्र हो।
“दाउन्नेको उकालो (Climbing Lane) मा धेरै भार भएका गाडीहरू गुड्दा पाङ्ग्रा पर्ने भागमा कालोपत्रे दबेको छ। प्राविधिक भाषामा यसलाई ‘रट फर्मेसन’ (Rut Formation) भनिन्छ। बाहिर हल्ला भएजस्तो सडक नै भासिएको होइन,” इन्जिनियर खनालले स्पष्ट पारे।
कहाँ-कहाँ देखियो समस्या र के हो प्राविधिक कारण?
कुल ११३ किलोमिटर लामो यस आयोजनाको पश्चिम खण्ड (दाउन्ने–बुटवल करिब ४९ किमी) मा मुख्य कालोपत्रेको काम प्रायः सकिएको छ। समस्या मुख्यतया दुई ठाउँमा देखिएको छ:
१. दाउन्नेको ‘एस मोड’ आसपास: उकालो खण्डको करिब ८०० मिटर सडकमा सवारीको भारले कालोपत्रे दबेको छ।
२. बर्दघाट–चिसापानी खण्ड: करिब ५०० देखि ७०० मिटर सडक उत्तरतर्फको भागमा दबेको छ।
दबिनुको भौगर्भिक कारण:
यो क्षेत्र चुरे पहाड (सिवालिक जोन) मा पर्दछ। पहाडको भित्ताबाट रसाएको जमिनमुनिको पानी बाहिर निस्कन खोज्दा सडकको आधार (Base) कमजोर बनेको र माथिबाट भारी गाडी गुड्दा सडक दबेको प्रारम्भिक आकलन गरिएको छ। दक्षिणतर्फ जमिनमुनिको पानी तर्काउने प्रणाली (Sub-surface Drainage) राखिएकाले सडक सुरक्षित रहेको आयोजनाले जनाएको छ।
५ वर्षसम्म चिनियाँ ठेकेदारकै मर्मतको जिम्मा, राज्यलाई भार नपर्ने
सडकमा देखिएको यो त्रुटि सच्याउन राज्य वा आयोजनाको कुनै अतिरिक्त बजेट खर्च हुने छैन। निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ ले नै आफ्नै खर्चमा यसको मर्मत गर्नुपर्ने कानुनी व्यवस्था छ।
ठेक्का सम्झौता अनुसार मुख्य काम सकिएपछि १ वर्षको ‘त्रुटि सच्याउने अवधि’ (Defect Liability Period) र थप ४ वर्ष ‘पर्फर्मेन्स बेस मेन्टेनेन्स’ गरी कुल ५ वर्षसम्म आउने जुनसुकै समस्या ठेकेदार कम्पनीले आफ्नै खर्चमा मर्मत सम्भार गर्नुपर्नेछ। बर्खालगत्तै चिनियाँ कम्पनीले विस्तृत अध्ययन गरी दिगो इन्जिनियरिङ समाधान दिने लिखित प्रतिबद्धता जनाइसकेको छ।
भौतिक प्रगति ९३ प्रतिशत, पुल र कल्भर्टको काम सम्पन्न
एसियाली विकास बैंक (ADB) को ८५ प्रतिशत ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानीमा निर्माणाधीन यस पश्चिम खण्डको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८७ प्रतिशत पुगेको छ।
-
पुल तथा कल्भर्ट: ९ वटा ठूला पुल, १९ वटा साना पुल र २५४ वटै बक्स कल्भर्टको निर्माण पूर्ण भइसकेको छ।
-
बाँकी काम: नाला सरसफाइ, दाउन्नेमा पेन्टिङ, बायो-इन्जिनियरिङ र फुटपाथमा रेलिङ लगाउने काम भइरहेको छ।
कोरोना महामारी, रूख कटान र पोल सार्ने प्रशासनिक ढिलाइका कारण पटक-पटक म्याद थपिएको यस आयोजनामा देखिएका साना प्राविधिक त्रुटिहरूलाई बर्खालगत्तै वैज्ञानिक ढङ्गले समाधान गरिने आयोजनाको दाबी छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline