राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको औपचारिक रूपरेखा (Candidate Selection Criteria) तयार पारेको छ।
उम्मेदवार चयन प्रक्रियालाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यका साथ विधानमा उल्लिखित लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब र प्रारम्भिक निर्वाचन (Primary Elections) को व्यवस्था अनुसार यो रूपरेखा तयार पारिएको रास्वपाले जनाएको छ।
रास्वपाबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मा औपचारिक आवेदन दिनुपर्नेछ। आवेदकहरूका लागि कानुनी तथा पार्टीको विधानबमोजिमका योग्यताहरू तोकिएको छ।
भारांक (Weightage) विभाजन: कसरी छानिनेछन् उम्मेदवार?
तयार पारिएको रूपरेखा अनुसार उम्मेदवार छनोटका लागि कुल १०० प्रतिशत भारांकलाई ४ भागमा विभाजन गरिएको छ:
-
प्रारम्भिक निर्वाचन (Primary Election): ४० प्रतिशत
-
लिडरसिप एकेडेमी (Leadership Academy): २५ प्रतिशत
-
पोलिटिकल प्रोक्सिमिटी (Political Proximity): २५ प्रतिशत
-
समावेशी/प्रतिनिधित्व (Inclusivity): १० प्रतिशत
कडा सर्तहरू: कसले आवेदन दिन पाउँदैनन्?
रास्वपाले ‘एक व्यक्ति, एक अवसर’ र उम्मेदवारीमा दोहोरोपन रोक्न केही महत्त्वपूर्ण सर्तहरूसमेत लागू गरेको छ:
१. प्रतिनिधिसभाका आकांक्षीलाई रोक: एउटै निर्वाचन चक्रभित्र प्रतिनिधिसभाको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेका व्यक्तिहरू स्थानीय तहको उम्मेदवार बन्न पाउने छैनन्।
२. पराजितलाई प्रदेशसभामा रोक: स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका व्यक्तिहरूले सोही निर्वाचन चक्रमा हुने प्रदेशसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा भाग लिन पाउने छैनन्।
३. वडा तहका आकांक्षीलाई प्रदेशमा रोक: वडा तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेका व्यक्तिहरू सोही निर्वाचन चक्रमा प्रदेशसभाको उम्मेदवार बन्न पाउने छैनन्।