काठमाडौं, २० साउन ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यमान संसदीय कम्युनिस्ट पार्टीहरू असफल भइसकेको दाबी गर्दै नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अघि सारेका छन्।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले नयाँ दृष्टिकोण र फराकिलो सोचका साथ कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने बताए।
बितेका दुई दशकमा कम्युनिस्ट नेताहरूको व्यवहारका कारण जनमत ह्वात्तै घटेको उल्लेख गर्दै उनले निराशाजनक अवस्था अन्त्य गर्न नयाँ केन्द्रको आवश्यकता औँल्याए।
“कम्युनिस्ट आन्दोलनका लागि हाम्रो स्पष्ट प्रस्ताव छ— नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाऊँ। फराकिलो तरिकाले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ, तर नयाँ दृष्टिकोण हुनुपर्छ। दुई दशक कम्युनिस्ट नेताहरूलाई हेर्दा ७० प्रतिशत जनमत खुम्चिएको छ र बचेको जनमत पनि उत्साहित छैन,” महासचिव विप्लवले भने।
“दुई तिहाइ ल्याएर सरकार चलाउनेहरू सिद्धिए”
संसदीय राजनीतिमा सीमित भएका कम्युनिस्ट पार्टीहरूले दुई तिहाइ नजिकको मत पाउँदा र पटक-पटक प्रधानमन्त्री बन्दा समेत राज्यका निकायहरूलाई सही व्यवस्थापन गर्न नसकेको भन्दै विप्लवले कडा प्रहार गरे।
“दुई तिहाइ नजिक मत ल्याएर सरकार चलाएका कम्युनिस्ट पार्टीले केवल संसदीय तरिकाले मात्र सोच्न थाले। सरकारमा पुगेर दुई/तीन वटा प्रधानमन्त्री चलाउँदा पनि सरकारी निकायलाई उचित व्यवस्थापन गर्न नसक्ने कम्युनिस्ट सायद अब सिद्धियो,” विप्लवले थपे।
उनले क्रान्तिकारी र प्रगतिशील शक्तिहरू एक ठाउँमा उभिएर नयाँ विचारका साथ अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे।