राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार गठन तथा सहभागिताका विषयमा आवश्यक निर्णय लिने सम्पूर्ण अख्तियारी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन र बदलिँदो राजनीतिक समीकरणलाई नजिकबाट नियाल्दै उपयुक्त समयमा आवश्यक निर्णय लिने नीति तय गरेको हो।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै अध्यक्ष लिङ्देनले राप्रपा हालसम्म प्रदेश सरकार निर्माणका सत्ताकेन्द्रित जोड-घटाउमा सहभागी नरहेको स्पष्ट पारे।
“कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको सत्ता समीकरणमा राप्रपाको तत्काल कुनै संलग्नता छैन। तर, राजनीतिमा विशेष परिस्थिति सिर्जना भई निर्णय नै लिनुपर्ने अवस्था आएमा त्यसको सम्पूर्ण अधिकार अध्यक्षलाई दिने निर्णय बैठकले गरेको छ,” अध्यक्ष लिङ्देनले भने।
अध्यक्ष लिङ्देनका अनुसार परिस्थिति फेरबदल भएमा पार्टीले आफ्नो भूमिका र रणनीति सोही अनुसार तय गर्नेछ।