बजारमा एलपी ग्यासको अभाव र वितरणमा समस्या देखिएपछि नेपाल आयल निगमले तत्काल समाधानका लागि ‘क्विक रेस्पोन्स टिम (QRT)’ गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको भान्छामा कुनै पनि हालतमा एलपी ग्यासको अभाव हुन नदिन कडा निर्देशन दिएलगत्तै निगमले यो टोली गठन गरेको हो। टोलीले बुधबारदेखि नै आफ्नो काम औपचारिक रूपमा सुरु गरिसकेको छ।
५ सदस्यीय टोली गठन: को-को छन् क्यूआरटीमा?
ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न मन्त्रालय, निगम, उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधिहरूसहितको संयुक्त संयन्त्र बनाइएको छ। गठित क्यूआरटीमा निम्नलिखित प्रतिनिधिहरू रहेका छन्:
-
उद्योग मन्त्रालय: मंगल विष्ट
-
नेपाल आयल निगम: इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी
-
ग्यास उद्योगी प्रतिनिधि: आयुस नेपाल र कुलप्रसाद राई
कसरी गर्छ क्यूआरटीले काम?
देशका जुनसुकै स्थानमा एलपी ग्यासको अभाव वा वितरणमा समस्या देखिएमा यो टोलीले तत्काल समन्वय गरी समाधान गर्नेछ।
कार्यालय समयभित्र निगमको हटलाइनमा प्राप्त हुने ग्राहकका गुनासोका आधारमा सम्बन्धित ग्यास उद्योग, स्थानीय डिलर तथा व्यवसायीहरूसँग सीधा सम्पर्क गरी उपभोक्ताको घरसम्म ग्यास आपूर्ति सहज बनाइने निगमले जनाएको छ।
गुनासो गर्ने हटलाइन नम्बर
ग्यास आपूर्तिसम्बन्धी कुनै पनि समस्या वा गुनासो भएमा उपभोक्ताले कार्यालय समयभित्र आयल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न सक्नेछन्:
-
निगमको हटलाइन नम्बर: ०१–५९७१९०२
सम्पर्क प्राप्त हुनासाथ क्यूआरटी टोलीले तत्काल आवश्यक पहल गरी समस्या समाधान प्रक्रिया अघि बढाउने निगमले स्पष्ट पारेको छ।