सुनसरी — सुनसरीमा भएको दुई पक्षीय तनावका क्रममा प्रहरीको गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीको देवानगन्ज गाउँपालिका-१ का २२ वर्षीय रवीन्द्र मेहताको आज बिहान पौने ११ बजे मृत्यु भएको हो। उनको मृत्युबारे जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो।
गत साउन १० गते सुनसरीमा दुई पक्षबीच भएको तनाव नियन्त्रणमा लिन सुरक्षा निकायले चलाएको गोली लागेर मेहता गम्भीर घाइते हुनुभएको थियो।
योसँगै कोशी र मधेस प्रदेशमा भएका पछिल्ला violent घटनाहरूमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि सुनसरीका जयप्रकाश मेहता र ओमप्रकाश मेहता तथा सिरहाका गणेश यादवको मृत्यु भइसकेको छ। मृतक तीनै जनाको परिवारसँग सरकारले यसअघि नै सहमति गरिसकेको छ।
उपचाररत मेहताको पनि मृत्यु भएपछि उत्पन्न हुनसक्ने सम्भावित तनाव र अप्रिय घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायले उच्च सतर्कता अपनाउनुका साथै आवश्यक समन्वय गरिरहेको जनाइएको छ।