इनरुवा, १८ साउन । सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्था बिस्तारै लयमा फर्कन थालेपछि स्थानीय प्रशासनले निषेधित क्षेत्रको दायरा घटाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा अवस्थाको पछिल्लो समीक्षा गर्दै चारवटा स्थानीय तहमा लगाइएको निषेधाज्ञालाई अब दुईवटा पालिकामा मात्रै सीमित गरेको हो ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इश्वरीप्रसाद अर्यालले सोमबार एक आदेश जारी गर्दै अब देवानगञ्ज र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम रहने जानकारी दिएका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ख) बमोजिम सोमबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि ती दुई पालिकाका सम्पूर्ण क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यसअघि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले देवानगञ्ज र हरिनगरसँगै भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा पनि निषेधाज्ञा जारी गरेको थियो । तर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकाको जनजीवन एवं सुरक्षा स्थिति सामान्य बनिसकेकाले ती क्षेत्रबाट निषेध आदेश पूर्ण रूपमा हटाइएको स्थानीय प्रशासनले जनाएको छ ।
हरिनगर र देवानगञ्ज गाउँपालिकामा भने अझै पूर्ण रूपमा स्थिति नियन्त्रणमा आइनसकेकाले सुरक्षा सतर्कता अपनाउँदै निषेधाज्ञालाई निरन्तरता दिइएको हो । आदेश लागू भएका क्षेत्रमा ५ जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन, जुलुस निकाल्न, सभा-सम्मेलन वा प्रदर्शन गर्न तथा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि गर्न कडा प्रतिबन्ध लगाइएको छ ।
प्रशासनले जिल्लामा सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्न अपिल गर्दै जारी आदेशको पूर्ण पालना गरिदिन सम्पूर्ण जिल्लाबासी तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।