सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

सुदूरपश्चिम, १७ साउनः धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सामूहिक प्रतिबद्धता जनाइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आज धनगढीमा भएको सर्वपक्षीय बैठकमा सरोकार भएकाहरूले सदियौँदेखि मिलेर बसेको समाजमा कुनै प्रकारका अवाञ्छित गतिविधि हुन नदिन मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा राजनीतिक दल, हिन्दू, मुस्लिम, इसाईलगायत धार्मिक तथा समाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा सामाजिक सद्भाव तथा सार्वजनिक हितका लागि क्रियाशील रहने बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीले पूर्वी नेपाल र तराई–मधेसका केही जिल्लामा धार्मिक सद्भावविरोधी गतिविधि बढिरहेकाले त्यसको प्रभाव पर्न नदिन कैलालीमा उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले सीमा क्षेत्रबाट हुने शङ्कास्पद गतिविधि र आवतजावत तथा जोखिम हुनसक्ने क्षेत्रमा प्रशासनले निगरानी गरिरहेको जानकारी दिँदै यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

हिन्दू, मुस्लिम र इसाई धर्मका अगुवाहरुले आफ्नो समुदायका व्यक्तिबाट कुनै पनि गलत क्रियाकलाप हुन नदिन आफूहरु सचेत रहेका तथा गलत कार्य गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिए । बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा वडाध्यक्षको समन्वयमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकास्तरमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

यस्तै, कुनै एउटा धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सकेसम्म धार्मिक सभा, जुलुस वा अन्य कार्यक्रम नगर्ने तथा गर्नै परे पूर्वस्वीकृति लिने, धार्मिक गतिविधिका क्रममा हतियार, लाठी, भालालगायतका सामग्री प्रदर्शन वा प्रयोग नगर्ने र अर्को समुदायको धार्मिक आस्थामा आघात पुग्ने गतिविधि नगर्ने सहमति भएको छ । कुनै व्यक्ति वा संस्थाले धार्मिक समुदायको बदनाम हुने गरी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक, उत्तेजक वा द्वेष फैलाउने सामग्री प्रचार–प्रसार गरे कानुनबमोजिम कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी, जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने सम्पूर्ण यात्रुलाई अनिवार्य रूपमा परिचय खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने र स्थानीय प्रशासनले सीमामा उच्च निगरानी गर्ने जनाइएको छ ।

यस्तै, कैलाली उद्योग वाणिज्य सङ्घको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न राजनीतिक दल, धार्मिक समुदाय, व्यावसायिक सङ्घसंस्था, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा आमनागरिकको सहभागितामा सोमबार नागरिक सद्भाव ¥याली आयोजना गर्ने निर्णय गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ