सुनसरी — सुनसरीको देवानगन्ज क्षेत्रमा स्थिति बिस्तारै सामान्य बन्दै गए पनि पूर्व-पश्चिम राजमार्ग केन्द्रित प्रदर्शन चर्किएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ। इनरुवादेखि पश्चिम कोसी ब्यारेजसम्म प्रदर्शनकारीहरूले ठाउँ-ठाउँमा टायर बालेर सडक अवरोध गरेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगन्जको स्थिति नियन्त्रणमा आउँदै गरे पनि राजमार्गमा प्रदर्शन तीव्र भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इटहरीबाट पश्चिमसतर्फ जाने सवारीसाधनहरूलाई रोकिएको छ। सम्भावित दुर्घटना र जोखिम बढेकाले यातायात पूर्ण रूपमा बन्द गराउनु परेको प्रहरीले जनाएको छ।
घटनाको पृष्ठभूमि:
गत आइतबार राति देवानगन्जमा दुई समूहबिच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। झडप र प्रहरी कारबाहीका क्रममा २२ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उक्त घटनाको विरोधमा सुरु भएको प्रदर्शन सुनसरी हुँदै विराटनगरसम्म फैलिएको छ। आन्दोलनकारीहरूले विराटनगरका मुख्य बजार क्षेत्रका पसलहरूसमेत बन्द गराएका छन्, जसका कारण समग्र पूर्वी क्षेत्रको जनजीवन प्रभावित बनेको छ।