एमालेमा गहिरिदै आन्तरीक संकटः आफूलाई पद छाड भन्नेलाई कार्बाही गर्ने ओलीको चेतावनी

एमालेमा गहिरिदै आन्तरीक संकटः आफूलाई पद छाड भन्नेलाई कार्बाही गर्ने ओलीको चेतावनी

  • सोमवार, असार २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

२१ असार, काठमाडौं । नेकपा एमालेमा निर्वाचन पराजयको समीक्षा एवं पार्टी पुनर्गठन सुझाव संकलन अभियान सकिएको छ । सबै प्रदेश, सम्पर्क समन्वय, जनसंगठन र केन्द्रीय विभाग तथा निकायका नेताहरूबाट सुझाव लिएर पार्टी निर्णय गर्नेगरी एमालेले यो अभियान चलाएको थियो । जिल्ला र प्रदेशका पदाधिकारीदेखि माथिका नेताहरूबाट सुझाव लिन केन्द्रीय पदाधिकारीहरू सबै प्रदेश पुगेका थिए ।

कार्यदलका संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापासहित विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायत नेताहरू सुझाव संकलन अभियानमा खटिएका थिए । बागमती, कोशी, सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको सुझाव संकलनपछि उपाध्यक्ष पौडेल गिरफ्तारीमा परे । बाँकी प्रदेशहरू गण्डकी, मधेश र राजधानी विशेषको सुझाव संकलनमा अरु पदाधिकारी सहभागी थिए । भौतिक रुपले पुग्न नसकेका राजधानी बाहिरका प्रदेशहरूमा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरे ।

काठमाडौंमै सुझाव संकलन भएको बागमती, राजधानी विशेष, सम्पर्क समन्वय, जनसंगठन र केन्द्रीय विभाग तथा निकायको सुझाव संकलनमा ओली आफैं सहभागी भए । नेताहरूका अनुसार ओलीले सुझाव संकलनका क्रममा नेतृत्व नछोड्ने प्रस्ट सन्देश दिएका छन् ।

‘सबैतिर उहाँको एउटै कुरा छ–मैले गल्ती गरेको छैन, नगरेको गल्तीका कारण हट्दिनँ । बरु हटाउन खोज्नेलाई कार्बाही गरिन्छ,’ एक पदाधिकारी भन्छन् ।

उनका अनुसार शुक्रबार सम्पन्न जनवर्गीय संगठनहरूको सुझाव संकलनमा पनि कार्बाहीकै चेतावनी दिँदै ओलीले भनेका थिए— ‘सामाजिक सञ्जालमा लेख्ने र पर्चा बाँड्ने गरिँदैछ । यस्तो अराजक काममा लाग्नेहरूलाई कार्बाही गरिन्छ ।’ ओलीले कार्बाहीको चेतावनी दिँदा राष्ट्रिय सभा सदस्य प्रेम दंगाल लगायत केहीले ताली बजाएका थिए । स्रोतका अनुसार, प्रेम दंगाल र उत्पीडित समाजका साथीहरू लगायत केहीले ताली बजाउनु भएपछि उत्साहित भएर ओलीले अझ जोडले बजाउन आग्रह गरे पनि दोस्रोपटक कसैले ताली बजाएनन् ।

जनसंगठनका पदाधिकारीहरूबाट सुझाव संकलन गरिने उक्त कार्यक्रममा ओलीले पार्टी पुनर्गठनबारे पार्टीले कुनै निर्णय नगरेको तर्क समेत गरेका छन् । ‘पार्टीलाई पुनर्गठन गर्नुपर्छ भन्ने सचिवालयको कुनै निर्णय होइन । अहिलेको माग पनि होइन,’ ओलीको भनाइ थियो, ‘अनि पार्टीले निर्णय गरेको कुरा सामाजिक सञ्जालमा मनपरी लेख्ने ? त्यस्तो गर्नेमाथि कार्बाही हुन्छ ।’

एक शीर्ष नेताका अनुसार ओलीले हरेकजसो सुझाव संकलन कार्यक्रममा यस्तै तर्क गर्दै नेतृत्वमा रहिरहन सबैतिर सहयोग मागिरहेका छन् र पुनर्गठनको आवाज उठाउनेलाई पार्टी विरोधीको संज्ञा दिने गरेका छन् । शुक्रबारको कार्यक्रममा पनि उनले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेल लगायत पदाधिकारीलाई विरोधीको माग पूरा गराउनेगरी गुटबन्दी नगर्न चेतावनी दिएका थिए ।

तल्ला कमिटीबाट ओली र बस्नेतमाथि नै कार्बाहीको माग
ओलीको चेतावनीका बाबजुद तल्ला कमिटीका नेताहरूले पुनर्गठनको माग राखेका छन् । जनसंगठनकै भेलामा पनि पुनर्गठनको पक्षमा बहुमत नेताहरूले बोलेका थिए । ‘सामाजिक सञ्जालमा लेख्ने र पुनर्गठनको अभियान चलाएकै भरमा कार्बाही गर्ने हो भने कतिलाई गर्नुहुन्छ ?,’ केन्द्रीय सदस्य मानबहादुर शाहीले सोधेका थिए ।

स्रोतका अनुसार कतिपय नेताले त आफ्नै अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्णयविरुद्ध बोलेको भन्दै ओली र महेश बस्नेतमाथि नै कार्बाहीको माग राखेका थिए । अधिकांश जिल्लाका पदाधिकारीले पनि ओलीको निर्देशनमा असहमति जनाउँदै ‘पुनर्गठनमा जानुपर्ने र सबैले त्याग गर्न तयार हुनुपर्ने’ धारणा राखेका छन् ।

सुझावहरूको अन्तिम प्रतिवेदन तयार पार्ने काम कार्यदलको सदस्य सचिवका हैसियतमा महासचिव शंकर पोखरेलले गरिरहेका छन्, जसलाई केन्द्रीय कमिटीमा छलफल गराउने तयारी छ । तर, अभियानभर ओलीले लिएको अडान हेर्दा प्रतिवेदन सर्वसम्मत बन्ने सम्भावना कमजोर छ ।

शनिबार च्यासलमा सम्पन्न ‘पार्टी जागरण अभियान’ को उद्घाटन सत्रमा अध्यक्ष ओली र महासचिव पोखरेलले मञ्चबाटै अलग–अलग निष्कर्ष सुनाए पछि एमालेको संकट थप पेचिलो बनेको पुष्टि हुन्छ । ओलीले आफ्नो नेतृत्वको बचाऊ गर्दै पुनर्गठन अभियानको औचित्य नरहेको बताए भने महासचिव पोखरेलले एमालेको संकट नेतृत्वकै कारणले सिर्जना भएको भन्दै त्यसको कडा खण्डन गरे ।

केपी शर्मा ओलीको तर्क: ‘देश जलाउनेहरूलाई सजिलो पार्नेगरी मैले निर्णय लिनुपर्ने हो ? देश बनाउने शक्तिले माफी माग्ने ? देश बनाउन हिँडेकाले गल्ती गरे भनेर छोड्ने ?’

महासचिव शंकर पोखरेलको प्रतिवाद: ‘नवौं महाधिवेशन पछि एमालेमा कमिटी प्रणाली ध्वस्त भयो । चार जनाको हातमा पार्टी गयो । कुनै कमिटीको बैठक बस्यो भने निर्णय गर्ने जिम्मा सचिवालयलाई दिने, सचिवालयले पदाधिकारी र पदाधिकारीले अध्यक्षलाई दिने भयो । जनसंगठनहरूले आफ्नो समुदायको हितमा निर्णय नगरेर पार्टी नेतृत्वको सेवा गर्न थाले ।’

नेताहरूका अनुसार ओली र पोखरेलबीच अन्यत्र पनि यस्तै मतभेद देखिएको थियो । विष्णु पौडेल गिरफ्तार भएपछि पुनर्गठन अभियान सेलाउँछ कि भन्ने आशंका रहे पनि महासचिव पोखरेलले सशक्त रुपमा आफूलाई प्रस्तुत गर्दै एमालेलाई पुनर्गठन गरेरै छोड्ने संकल्प देखाएका छन् ।

सुझाव संकलन अभियान सकिँदासम्म ओलीको पक्षमा रामबहादुर थापा ‘बादल’ (मौन समर्थन), महेश बस्नेत र अन्तिम समयमा खुलेका सचिव भानुभक्त ढकाल गरी तीन जना मात्र उभिएका छन् । ढकालले शनिबारको कार्यक्रममा हारका कारण कसैलाई बदनामीसहित बिदा गर्न नहुने र छोड्नुपर्ने भए सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले राजीनामा दिनुपर्ने तर्क गरेका थिए । तर, पार्टीभित्र पुनर्गठन पक्षधर र संस्थापन पक्षबीचको यो टकरावले एमाले आगामी दिनमा थप ध्रुवीकृत हुने निश्चित देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी