जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

  • सोमवार, असार १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १५ असारः राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनुभएको छ ।

आज २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना गर्दै उहाँले भन्नुभयो, “कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिन्छ ।”

“श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो छ । जीवन धान्नका लागि मात्र कृषि पेसा होइन, अब व्यावसायिक कृषितर्फ लाग्न म सबैलाई आह्वान गर्दछु । यसका लागि सम्बन्धित निकायले त्यसतर्फ ध्यान देओस् भन्ने चाहन्छु”, उहाँले भन्नुभयो ।

धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको बताउनुभयो । हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारलगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने उहाँको भनाइ छ ।

“जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई हाम्रो मागअनुसारको धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण आफ्नै देशमा धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने आदर्श वाक्यका साथ यो दिवस मनाइँदै छ ।

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । साथै, कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्नेसम्बन्धी नीति पनि संविधानमा व्यवस्था छ । धान हाम्रो प्रमुख खाद्यान्न बाली भएकाले यसको हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्त्व पनि रहेको राष्ट्रपतिको भनाइ छ ।

उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “नेपालको धानखेती वर्षामा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी