विराटनगर । विराटनगरस्थित कोइराला निवासमा तीन प्रमुख राजनीतिक नेताहरूबीच गोप्य संवाद भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान महत्वपूर्ण भेटवार्ता भएको हो ।
भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पछिल्ला विकसित घटनाक्रम, संसद्को भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।
देशको राजनीतिक परिस्थितिलाई लिएर प्रमुख दलका शीर्ष नेताहरूबीच देशव्यापी रूपमा संवाद भइरहेका बेला विराटनगरमा भएको यो त्रिपक्षीय भेटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
विशेषगरी बदलिँदो राजनीतिक समीकरण, संसद्को प्रभावकारी सञ्चालन तथा राष्ट्रिय मुद्दामा दलहरूबीच हुनुपर्ने सहकार्यका विषयमा नेताहरूले धारणा आदानप्रदान गरेका छन् । यद्यपि, भेटमा भएका छलफलको ठोस निष्कर्ष र विस्तृत विवरण भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन र नेताहरूले पनि सञ्चारमाध्यमलाई कुनै प्रतिक्रिया दिएका छैनन् ।
वर्तमान सरकारको कार्यसम्पादन, संसद्को प्रभावकारिता र राष्ट्रिय सहमतिका विषयमा तीन नेताबीच खुला विमर्श भएको अनुमान गरिएको छ । देशको राजनीतिक परिवेश संवेदनशील बन्दै गइरहेका बेला फरक धारका यी प्रभावशाली नेताहरूबीचको आकस्मिक संवादले आगामी राजनीतिक दिशा कता मोडिने हो भन्नेबारे चासो र चर्चा चुलिएको छ ।