चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि गरिएको सहमतिको प्रयास असफल भएको छ । आकांक्षी नेताहरूले एक पद त्याग्दा अर्को आकर्षक जिम्मेवारीको बार्गेनिङ गरेपछि सहमति जुट्न नसकेको हो ।
महाधिवेशनलाई सर्वसम्मत टुङ्ग्याउन सभापति रवि लामिछानेले रातभर आकांक्षी नेताहरूसँग सघन छलफल गरेका थिए । शीर्ष नेतृत्वबीच सहमतिको प्रयास जारी रहेको भन्दै निर्वाचन आयोगले समेत मतदानको प्रक्रिया रोकेर राखेको थियो । तर, आपसी किचलोका कारण सहमति जुट्ने सम्भावना टरेपछि अब पुनः चुनावी प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
उपसभापति र महामन्त्रीमा तीव्र लुछाचुँडी
विशेषगरी उपसभापति र महामन्त्री पदमा आकांक्षीहरूको संख्या धेरै हुँदा सहमति जुटाउन सकस भएको नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
“सभापतिज्यूले रातभर प्रयास गर्नुभयो । तर, आकांक्षी नेताहरूले उम्मेदवारी फिर्ता लिनुपरे अन्य कुनै शक्तिशाली ठाउँमा ‘सेटल’ (व्यवस्थापन) गर्नुपर्ने सर्त अघि सारेपछि सहमति हुन सकेन,” बुर्लाकोटीले भने ।
१० बजेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने, प्रतिनिधि भने घर फर्किए
यता निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले उम्मेदवारहरूको समानुपातिक सूची मिलाएर बिहान १० बजेपछि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिएका छन् । नेतृत्व तहमा सहमति नजुटेको र चितवनमै बाँकी रहेका प्रतिनिधिहरूले मतदानबाटै नेतृत्व छानिनुपर्ने अडान राखेकाले निर्वाचनको सम्भावना बढेको हो ।
यद्यपि, महाधिवेशन लम्बिएपछि अधिकांश प्रतिनिधिहरू भने चितवन छाडेर आफ्नो गृहजिल्ला फर्किसकेका छन् । यस्तो अवस्थामा हुन लागेको निर्वाचनले पार्टीभित्र कस्तो समीकरण बनाउने हो, त्यो भने हेर्न बाँकी छ ।