काठमाडौँ, ९ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई काठमाडौँ ल्याइएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौँ ल्याएर सिधै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुर्याइएको हो।
नेपालगन्ज हुँदै रातारात काठमाडौँ
सोमबार सुर्खेतमा पक्राउ परेपछि पौडेललाई सोही साँझ बाँकेको नेपालगन्ज लगिएको थियो। नेपालगन्जबाट उनलाई रातारात गाडीमार्फत यात्रा गराई मंगलबार दिउँसो काठमाडौँ पुर्याइएको स्रोतले जनाएको छ।
म्याद थपका लागि विशेष अदालत लैजाने तयारी
विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरेका अनुसार पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया अघि बढाइएको छ।
“उहाँलाई म्याद थपको प्रक्रियाका लागि पहिले विशेष सरकारी वकिल कार्यालय माइतीघर लगिनेछ र त्यसपछि आजै विशेष अदालतमा उपस्थित गराइनेछ,” सूचना अधिकारी घिमिरेले जानकारी दिए।
भैँसेपाटी निवासमा छापा
पौडेललाई सोमबार सुर्खेतमा नियन्त्रणमा लिनुअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा छापा समेत मारेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) को कसुरमा विस्तृत अनुसन्धान भइरहेको विभागले जनाएको छ।