चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज बिहान ८ः३० बजेदेखि चितवनको भरतपुरस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा प्रारम्भ भएको छ । आइतबार नारायणगढको गेष्टहाउस चौरमा भव्य रूपमा उद्घाटन गरिएको महाधिवेशनको दोस्रो दिन आज सांगठनिक, आर्थिक तथा राजनीतिक प्रतिवेदनहरूमाथि घनीभूत छलफल र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्दैछ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका लागि प्रदर्शनी केन्द्रका दुईवटा ठूला हल प्रयोग गरिएको छ भने बाँकी एउटा हलमा प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवकहरूका लागि आवास र भोजनको व्यवस्थापन गरिएको छ । महाधिवेशनमा देशभरिबाट ४ हजार २११ जना प्रतिनिधिहरू सहभागी छन् ।
प्रतिवेदन प्रस्तुति र विधान संशोधन
आजको बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका प्रमुख रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । त्यसलगत्तै कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन र महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रस्तुत प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूबीच विस्तृत छलफल गरी पारित गरिने जनाइएको छ ।
यसैगरी, सहमहामन्त्रीद्वारा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि छलफल गरी त्यसलाई अनुमोदन गराइनेछ । परिमार्जित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने र जसमा समावेशी प्रतिनिधित्वलाई उच्च प्राथमिकता दिइएको छ । बन्दसत्रको अन्त्यमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ । प्रतिवेदन अनुमोदन भएपश्चात् वर्तमान आयोजक समिति विघटन गरी सम्पूर्ण जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गरिनेछ ।
निर्वाचन कार्यसूची: आजै मनोनयन दर्ता, भोलि मतदान
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १:०० बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिनेछ । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका यसप्रकार रहेको छ:
उम्मेदवार मनोनयन दर्ता: दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म
उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन: साँझ ६ः०० बजे
दाबी-विरोध तथा जाँचबुझ: साँझ ६ः०० बजेदेखि राति ९ः०० बजेसम्म
उम्मेदवारी फिर्ताको अन्तिम समय: राति ९ः१५ बजेसम्म
उम्मेदवारको अन्तिम नामावली प्रकाशन: राति ११ः०० बजे
यही असार ९ गते मङ्गलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म पहिलो चरणको मतदान हुनेछ । महाधिवेशनले एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित गर्नेछ भने बाँकी सदस्यहरू समावेशी सन्तुलनका लागि मनोनीत गरिने विधानमा व्यवस्था छ । मतदान सम्पन्न भएको दुई घण्टाभित्रै मतगणना सुरु गरी परिणाम घोषणा गरिने र आवश्यक परेमा दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ ।