७ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफूले विगत एक दशकदेखि चलाउँदै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरेका छन्।
शनिबारदेखि सुरु भएको रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै डा. भट्टराईले यस्तो धारणा राखेका हुन्।
सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले आफूले विगत ११ वर्षदेखि ‘नयाँ शक्ति’ अभियानमार्फत नेपालमा वैकल्पिक राजनीतिको जग बसाल्न खोजेको स्मरण गरे। उनले भने:”मैले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ। उतारचढावहरू आए, तर आज म रास्वपालाई त्यही वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्त्वपूर्ण र सुन्दर उपलब्धिका रूपमा ग्रहण गर्दछु।”
रास्वपाको प्रशंसा गर्दा आफूमाथि स्वार्थको राजनीति गरेको भनी हुने गरेका टिप्पणीप्रति उनले कडा आपत्ति जनाए। नेपाली समाजको एक तप्का संकीर्ण सोचबाट ग्रसित रहेको उल्लेख गर्दै उनले आफ्नो बचाउ गरे।
“मैले रास्वपाको प्रशंसा गर्दा हाम्रो समाजको एउटा वर्गले ‘अब यसले के पाउन लाग्यो, कुन ललिपप देखाइदियो’ भन्दै न्युनस्तरको टिप्पणी गर्छ,” भट्टराईले आक्रोश पोखे, “म सारा जीवन देश र जनताका लागि मर्न हिँडेको मान्छे हो, मलाई यो उमेरमा केको ललिपप? जीवनमा सबैथोक प्राप्त गरिसकेको, देशको प्रधानमन्त्री भइसकेको मान्छेलाई अब कुन पद वा स्वार्थको ललिपप चाहिन्छ र?”
उनले रास्वपाको उदयले नेपालको राजनीतिमा नयाँ आशा जगाएको भन्दै महाधिवेशनको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरे।